डडेल्धुरा, ३२ जेठ । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने महाकाली नदीपछिको दोस्रो ठूलो नदी रङ्गुन नदीमा पक्की पुल निर्माण हुन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
बर्सेनि पुल नहुँदा वर्षाको समयमा दुईदेखि चार जना नदी तर्दा बग्ने, हराउने र नदी वारपार गर्दा समस्या हुने गथ्र्यो तर पुल निर्माण पछि भने यो दुःखबाट मुक्ति पाइने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
जिल्लाको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिकास्थित रङ्गुन नदीमा पक्की पुल निर्माण हुन थालेपछि वर्षात्को समयमा बाढीमा तर्दाको जोखिमबाट मुक्ति हुने भन्दै स्थानीयवासी खुुसी भएका परशुराम नगरपालिका कटालका स्थानीय समाजसेवी कैलाश पाण्डेले बताए ।
अहिले पिल्लर हाल्ने काम भइरहेको पुलको कुल लम्बाइ २५२ मिटर रहेको छ भने उक्त पुल कुल रु ११ करोड लागतमा निर्माण भइरहेको छ । परशुराम नगरपालिकाको लालढुङ्गा बजार र कटाल बजारलाई जोड्ने गरी निर्माण भइरहेको पुल निर्माण भएपछि भित्री मधेस क्षेत्रसहित रुपाल, बगरकोट, तथा बैतडी जिल्लाका तल्लो स्वराडका पाँच गाविसका हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन् ।
पुल निर्माण भएपछि परशुराम नगरपालिकास्थित परशुराम धार्मिक क्षेत्रमा धार्मिक पर्यटकको आगमनमा वृद्धि हुने विश्वास स्थानीयले लिएको कटालका पदम जोशीले बताउनुभयो । यसले गर्दा परशुराम नगरपालिकाको कटाल, शीर्ष, लालढुङ्गा, परिगाउँमा जमिनको मूल्यमा समेत वृद्धि भएको जोशीको भनाइ रहेको छ ।
गत वर्ष निर्माण सुरु भएको पुलको आव २०७४/०७५ मा निर्माण कार्य सम्पन्न गर्ने निर्माण पक्षले जानकारी गराएकाे छ ।
रङ्गुन नदीमा पुल नहुँदा वर्षात्को समयमा सो क्षेत्रका स्थानीय बासिन्दा स्वास्थ्य उपचारदेखि दैनिक उपभोग्य सामग्री खरिदका लागिसमेत वञ्चित हुने गरेका थिए भने विद्यार्थी बाढी आएको समयमा ट्युबमा पार गरी जोखिम मोलेर विद्यालय जाने आउने गरेको स्थानीय बासिन्दा बताउँछन् । रासस