खबरइरा संवाददाता
दैलेख , ३१ जेठ ।
सुदूरपश्चिमलाई सडक मार्गमा जोड्ने दोस्रो पुल थपिएको छ । राष्ट्रको मुलप्रवाहमा सुदूरपश्चिमलाई जोड्ने एक मात्र विकल्पको रुपमा रहेको कर्णाली चिसापानी पुल रहेकोमा अब देखि राकम कर्णाली पुल तयार भएको छ । जसले मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी जिल्लालाई सडक मार्गमा जोड्ने छ ।
दैलेख स्थित राकम कर्णालीमा निर्माणाधीन कर्णाली नदीको पुल निर्माण सम्पन्न भएपछि मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी जिल्ला सडक मार्गमा जोडिएका छन् ।
पुष्पलाल (मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड) अन्तर्गत दैलेख र अछाम जोड्ने कर्णाली नदीको पुल निर्माण सम्पन्न भएको छ । नदीको दैलेख तर्फको भाग डिजाइन परिर्वतन गरेपछि पुल निर्माणको काम सम्पन्न भएको हो ।
यो पुलको अभावमा अछाम बाजुरा र पुग्नका लागि कर्णाली चिसापानी भएर डोटीबाट लामो दूरी पार गर्नुपर्ने अवस्था थियो । राकम कर्णालीमा बनेको पलले अहिले दूरी छोट्याएको छ ।
राकम कर्णाली पुल बनेपछि कोहलपुर भएर धनगढी हुँदै अछाम पुग्न र कोहलपुर भएर दैलेख राकम कर्णाली हुँदै अछाम पुग्न २ सय २० किलोमिटर दूरी कम हुने भएको पुष्पलाल (मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड) दाङका इन्जिनियर तुलाराम शर्माले जानकारी दिएका छन् ।
कोहलपुर भएर धनगढी हुँदै अछाम मंगलसेन पुग्न ४ सय ६० किलोमिटर दुरी पार गर्नु पर्ने र कोहलपुर भएर सुर्खेत हुँदै दैलेख राकम कर्णालीबाट अछाम मंगलसेन पुग्न २ सय ४० किलोमिटर दूरी पार गर्नु पर्ने इन्जिनियर शर्माले बताए ।
दैलेखको जाक्सी र अछामको बेलखेत जोड्ने २ सय मिटर लामो पुल भ्याट बाहेक १९ करोड ८४ लाख ६३ हजारको लागतमा सम्पन्न भएको पुष्पलाल(मध्यपहाडी लोक मार्ग पश्चिम खण्ड) दाङका सिनियर डिजिनल इन्जिनियर नारायण न्यूरेले बताएका छन् ।
२०० मिटर मध्ये १ सय २७ मिटर पक्की र ७५ मिटर ट्रस रहेको छ । १७ करोड लागतमा ३ वर्षभित्र निर्माण पूरा गर्नुपर्ने भए पनि कडा चट्टान, भएका कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन ।
मध्यपहाडी राजमार्ग सुचारु भएपछि पिछडिएको त्यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पुल नहुँदा अहिलेसम्म दैलेख अछामबीच यातायात सम्पर्क जोडिएको थिएन ।
प्रकाशित मिति: ३१ जेष्ठ २०७३, सोमबार १२:३१