आनन्दप्रसाद सुवेदी
योजना निर्माणमा सहभागिता:
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मिति २०७३ साल जेठ २५ गतेका दिन यस विश्वविद्यालयका कुलपति एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूबाट आफ्नो २० वर्षे रणनीति योजना सार्वजनिक गर्यो । उक्त रणनीतिक योजना तयार पार्न गठित मूल समितिमा विश्वविद्यालयका पदाधिकारीहरु, सुर्खेत जिल्लाका वर्तमान सभासद्हरु, मप विश्वविद्यालय स्थापनार्थ नागरिकस्तरबाट गठित मूलसमितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष, सुर्खेत जिल्लामा क्रियाशील राजनैतिक दलका प्रमुखहरु, सुर्खेत जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व मन्त्रीहरु, मप विकास क्षेत्रका क्षेत्रीय प्रशासक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका क्षेत्रीय प्रहरी प्रमुख, नेपाली सेनाका सुर्खेतस्थित पृतनाका पृतनापति, प्र.जि.अ. (सुर्खेत), अ.दु.अ.आ.सुर्खेतका क्षेत्रीय प्रमुख, क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक, स्थानीय विकास अधिकारी सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, मप विश्वविद्ययालयका कार्यकारी परिषद् सदस्यहरु, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल वार एशोसियशनका पुनरावेदन वार इकाईका अध्यक्ष, मप विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष, मप विश्वविद्यालय शिक्षक संघ र विद्यार्थी संघका अध्यक्ष, शिक्षक महासंघ जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष, प्याव्सन जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष, सुर्खेती कल्याण समाज काठमाडौंका अध्यक्ष लगायत मप विश्वविद्यालयका उपकुलपतिद्वारा मनोनित अन्य सदस्यहरु रहनुभएको थियो । यो व्यापक सहभागीताले मध्यपश्चिमाञ्चल विश्वविद्यालयप्रति सम्पूर्ण क्षेत्र–राजनीति, शिक्षा, प्रशासन, वकिल, निजी व्यावसायी लगायत सबैको उल्लेख्य भूमिका रहेको देखिन्छ । तसर्थ, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको २० वर्षे रणनीति योजना सबैको साझा दस्तावेज भएको छ ।
यस २० वर्षे रणनीति रणनीति बनाउने शिलशिलामा सुर्खेत जिल्ला बाहिरका विभिन्न सरोकारवाला व्यक्ति र निकायहरुसँग पनि व्यापक छलफल गरिएको हुँदा यो भावी योजना समग्र यस क्षेत्रबासीको पूरा गर्नुपर्ने सपना भएको छ किनकी मप विश्वविद्यालय केन्द्रीय कार्यालयको आयोजनामा मिति २०७२ साल मार्ग १६ गते बबई क्याम्पस गुलरीया बर्दियामा भएको कार्यक्रम, मिति २०७२ साल मार्ग १७ गते धम्वोजी बाँकेमा भएको कार्यक्रम, मिति २०७२ साल पौष २५ गते सल्यानमा भएको कार्यक्रम, मिति २०७२ साल फाल्गुण ३ गते जाजरकोटमा भएको कार्यक्रम, मिति २०७२ साल फाल्गुण १५ गते काठमाडौंमा भएको कार्यक्रम र मप विश्वविद्यालय अन्तर्गतका डीन कार्यालय र केन्द्रीय क्याम्पसहरुले छुट्टाछुट्टै विभिन्न मितिमा स्थानीय सरोकारवालाहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमबाट २० वर्षे रणनीति निर्माणका लागि पृष्टपोषण लिने कार्य भएकोले यो रणनीतिक योजनाले यस क्षेत्रका हरेक तह र तप्काका मानिसहरूको राय र सुझावहरुलाई आत्मसाथ गरेको छ ।
बीस वर्षे रणनीतिको दीर्घकालीन सोच:
यो योजना मूलत: पिछडिएको क्षेत्रका जनतालाई उच्च शिक्षामा पहुँच पुर्याउन, मध्यपश्चिम क्षेत्रकै समग्र विकासका निम्ति शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न, मध्यपश्चिम क्षेत्र लगायत समग्र देशका जनताको प्रतिस्प्रधात्मक क्षमता बृद्घि गर्न चरणवद्घ रुपमा प्राज्ञिक कार्यक्रमहरु थप गर्ने दीघकालीन सोच लिएको छ ।
उक्त कुराहरु नेपाल सरकारद्वारा गठित मप विकास क्षेत्रमा विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन कार्यदल (२०५९), प्रस्तावित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रारम्भिक प्रारुप तयार गर्न गठित कार्यदल (२०६१), प्रस्तावित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तयारी समिति
(२०६३) लगायत समग्र मध्यपश्चिमबासी जनताले परिकल्पना गरेको विश्वविद्यालयको सरकार रुपको अन्तरवस्तु हुन् । उक्त विशेषता युक्त विश्वविद्यालय यस क्षेत्रमा जनताले आफ्नै घरआगनमा पाउनेतर्फ थप सुनिश्चितता यस २० वर्षे रणनीतिक योजनाले गरेको छ । अब बाँकी कार्यभार सबै सरोकारवालहरुको हो भने विशेष कार्यभार मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुको हो । यस रणनीतिका योजनाको उपसंहारमा भनिएको छ, योजना तयार गर्दैमा लक्ष्य प्राप्त गर्न सकिन्छ भनेर भन्न सकिदैंन । योजना तयार गर्नुृभन्दा पनि योजना लागू गर्न कठिन हुन जान्छ । तसर्थ, यो योजना कार्यान्वयनको कसीमा विश्वविद्यालयको स्तर निर्धारण हुन्छ ।
यस विश्वविद्यालयले सीप मूलक एवम् सामुदायिक समस्या समाधानमा केन्द्रित गुणस्तरीय शिक्षामा पिछडिएका, दुर्गम र अन्य विभिन्न क्षेत्रका जनताको पहुँच सुनिश्चित गरी समावेशी लोकतन्त्रात्मक नेपालको संस्थागत विकासमा टेवा दिन सक्ने र राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा खपत हुनसक्ने सचेत, सक्षम र उत्पादनशील योग्य नागरिक उत्पादन गर्ने दीर्घकालीन सोच लिएको छ ।
उद्देश्य:
क) आउँदो चार वर्षभित्र नै विश्वविद्यालयलाई नमुना उन्मुख उच्च शिक्षाको केन्द्र बनाउने ।
ख) १० वर्षभित्र अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने ।
ग) भौतिक पूर्वाधारको गुरुयोजना तयार गर्ने ।
घ) २० वर्षमा विश्वस्तरीय ई–लाइब्रेरी स्थापना गर्ने ।
ङ) यस क्षेत्रका हरेक जिल्लामा कम्तीमा एक आङ्गीक क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई जोड दिने ।
च) आवश्यकता र प्राथमिकताका आधारमा निम्नानुसारका आङ्गीक क्याम्पस स्थापना गर्ने ।
– चिकित्सा विज्ञान क्याम्पस
– जलस्रोत तथा जलविद्युत इन्जिनियरिङ्ग क्याम्पस
– कृषि तथा ग्रामीण विकास क्याम्पस
– वन तथ पशु विज्ञान क्याम्पस
– जडिबुटी उत्पादन तथा प्रशोधन क्याम्पस
– खनिज तथा जैविक विविधता अनुसन्धान क्याम्पस
– ग्रामीण समाज विकास ब्यवस्थापन क्याम्पस
छ) मध्यपश्चिमाञ्चल विकासक्षेत्र र समग्र राष्ट्रको आधुनिकीकरणको लागि निम्नानुसारका क्याम्पसहरुको सञ्चालन गर्ने कार्य कार्यकारी परिषद्, शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, अर्थ मन्त्रालय एवम् सम्पूर्ण सरोकारवालाहरुको स्थापना गरिने ।
– कर्णाली क्षेत्रमा कर्णाली विकास तथा जडिबुटी क्याम्पस
– दैलेखमा कृषि, वन, खनिज तथा ग्रामीण विकास क्याम्पस
– बाँके, बर्दियामा कृषि, वन तथा पर्यटन विकास क्याम्पस
– जाजरकोट, सल्यान, रुकुममा कृषि प्राविधिक र समाज विकास क्याम्पस
– सुर्खेतमा चिकित्सा सेवा विकास क्याम्पस र जलविद्युत इन्जिनियरिङ्ग क्याम्पस र आवश्यकता अनुसार विभिन्न तालिम केन्द्रहरु
ज) आंशिक शिक्षक राख्ने प्रावधानको अन्त्य गर्ने ।
झ) प्राध्यापक पदको लागि एम फिल र पीएच डी अनिवार्य गर्ने ।
ञ) प्रशासनिक चुस्तताका लागि दण्ड र सजायको व्यवस्था गर्ने ।
ट) विकासवादी संस्थाहरुसँग समन्वय गरी छात्रवृत्ति, सहुलियत ऋण र स्वआर्जनद्वारा अध्ययन गर्ने प्रावधानको विकास गर्ने ।
ठ) भौगोलिक विकटता, स्थानीय तथा राष्ट्रिय आवश्यकता र व्यावसायिक उपलब्धि अनुसार सम्बन्धन नीति तय गरी व्यावसायिक विषय पठन–पाठनका लागि सम्बन्धन दिने ।
ड) पिछडिएको क्षेत्र र सिमान्तिकृतहरुका लागि निश्चित कोटा निर्धारण गरिने जस्मा दलित, उत्पिडित र दुर्गम क्षेत्रका लागि निश्चित कोटा हुने ।
ढ) स्थानीय समाज र प्राकृतिक स्रोतहरुको अनुसन्धान एवम् राष्ट्रिय महत्वका विषयहरुको अनुसन्धान गरी तिनको प्रकाशन गर्ने कार्य आगामी २०७५ साल भित्र सम्पन्न गरिने ।
पञ्चवर्षीय योजना:
यस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बीस वर्षे रणनीतिलाई सही गन्तव्यमा पुर्याउन समयावधिका आधारमा पहिलो पञ्चवर्षीय, दोश्रो पञ्चवर्षीय, तेस्रो पञ्चवर्षीय र चौथो पञ्चवर्षीय योजना गरी चार भागमा वर्गीकरण गरिएको छ । पञ्चवर्षीय योजनमा विभिन्न सङ्कायमा विभिन्न नयाँ विषयहरु क्रमश: थप गर्दै जाने गरी समयावधि तोकिएको छ भने यसका लागि जिम्मेवार निकायहरु पनि स्पष्ट किटान गरिएको छ ।
सारांश:
यस बीस वर्षे रणनीतिक योजना सार्वजनिकीकरण गर्ने कार्य सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गर्ने कार्य र माननीय शिक्षामन्त्री गिरीराजमणि पोख्रेलज्यूबाट केन्द्रीय क्याम्पस परिसरमा केन्द्रीय पुस्तकालय भवनको शिलान्यास गर्ने कार्य भएको छ । उक्त दुवै संरचना यथाशीध्र तयार भएमा र बीस वर्षे रणनीतिक योजनामा लिइएको लक्ष्य मुताविक ठीक समयमा अपेक्षित लक्ष्य र उपलब्धि हासिल गरेमा मप विश्वविद्यालय साँच्चिकै यस क्षेत्रको गौरव हुनसक्दछ ।
प्रकाशित मिति: २९ जेष्ठ २०७३, शनिबार ११:४१