बेनी (म्याग्दी), २९ जेठ । समूहमा आबद्ध हुन थालेपछि पश्चिम म्याग्दीका महिला आत्मनिर्भर बन्न थालेका छन् ।
हिमवन्ती, मिलन म्याग्दी, सङ्गमलगायतका गैरसरकारी सङ्घसंस्थाका साथै ग्रामीण भेगमा महिलाले नै सञ्चालन गरेका समूहले उनीहरुलाई समूहमार्फत ऋण उपलब्ध गराउन थालेपछि दैनिक जीवन गुजारा गर्न सहज भएको हो ।
गैरसकारी सङ्घ संस्थाले त्यहाँका ६० वटा महिला समूहलाई लघुवित्त, बचत कार्यक्रम सञ्चालन गरेपछि पश्चिम म्याग्दीका भकिम्ली, अर्मन, बरङ्जालगायतका गाविसका महिलाको जीवनशैलीमा सुधार आएको छ ।
समूहमा लागेकालाई न्यूनतम रु पाँच हजारदेखि अधिकतम रु २५ हजारसम्म ऋण प्रदान गर्ने गरिएको छ । समूहमा लागेर ऋण लिएका एक हजार १५८ जना महिलाले अहिले कृषि, पशुपालन तथा व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन् ।
रु १० हजार ऋण लिएर तरकारीखेती सुरु गरेकी ज्यामरुककोट रोहेटेकी कमला रिजालले अहिले चार रोपनी जग्गामा तरकारीखेती गरेर मासिक रु २० देखि ३२ हजारसम्म आम्दानी गर्न सफल भएकी छिन् । तरकारी खेतीबाट नै उनले परिवारको गुजारा चलाउनुका साथै दुईवटा छोरालाई पठनपाठनमा सहयोग गरी मासिक रु ८/१० हजार बचत गर्ने समेत गर्दै आएकी छिन् ।
“सुरुमा आर्थिकस्तर ज्यादै दयनीय थियो खान लाउननै मुस्किल पथ्र्याे” उनी भन्छिन्– “महिला बचत समूह त साँच्चिकै महिलाको सहारा नै बन्यो ।”
एक वर्षअघि कार्यक्षेत्र ज्यामरुककोटलाई पारेर स्थापना भएको चेतना बचत समूहले महिलालाई विभिन्न शीर्षकमा रु २० लाख बढी लगानी गरेको छ । संस्थाले विभिन्न वडामा महिलालाई तरकारी खेती, पशुपालन, गोबरग्यास तथा साधारणतर्फ ऋण लगानी गरेको छ ।
त्यस्तै गौश्वाराकी तिलमाया नेपालीले व्यापारमा रु १५ हजार ऋण लिएकी छिन् । सोही व्यापारबाट उनी अहिले राम्रो आम्दानी गर्न सफल भएकी छिन् । व्यापार व्यवसाय सञ्चालन नगरुञ्जेल हातमुख जोर्न मुस्किल परेको उनी बताउँछिन् ।
विभिराबोटकी निर्मला सापकोटाले तीन सय वटा कुखुराबाट व्यवसाय सुरु गरी अहिले दुई हजार कुखुरा बिक्रीका लागि तयारी गरेकी छिन् । कुखुरापालन उनको आम्दानीको भरपर्दाे स्रोत बनेको छ । “ऋण लिएर कुखरापालन सुरु गरेकी थिएँ, अहिले त प्रत्येक चार महिनामा सबै खर्च कटाएर करिब रु ७० हजार फाइदा हुन्छ” – उनी भन्छिन् ।
लघु उद्यम, नेस्डो र चेतना महिला समूहले महिलालाई साधारणमा रु एक करोड पाँच लाख १२ हजार, सहयोगतर्फ रु २० लाख तीन हजार र गोबरग्यासमा रु पाँच लाख ३१ हजार ऋण लगानी गरेको छ ।
प्रत्येक महिना बस्ने बैठकले लगानी असुलीसमेत गर्ने भएकाले अन्य नयाँ समूहलाई समेत ऋण दिन सजिलो भएको चेतना महिला समूहकी अध्यक्ष तेजकुमारी कार्कीले बताइन् ।
यी संस्थाले चेतना महिला समूहको सिफारिसमा आठ प्रतिशत ब्याजदरमा लगानी गर्दैै आएको जनाएको छ । उनीहरूको बचतसमेत रु ९७ लाख पुगेको छ । लगानी गरेको वर्ष रु ३४ लाख असुली भएको बताउँदै अध्यक्ष कार्कीले भन्नुभयोे– “अहिलेसम्म महिलाको आर्थिक स्थिति राम्रो भएको छ । समूहमा लाग्ने सबैको यसबाटै परिवारको गुजारा तथा आर्थिकस्तर वृद्धि भएको छ । समूहमा २७६ सदस्य छन् । रासस