काठमाडौँ, २५ जेठ । मौसममा देखिएको परिवर्तनपछि बालबालिकामा भाइरल ज्वरो, जाइडिया (परजीविजन्य झाडापखाला) को सङ्क्रमण देखिन थालेको छ ।
बदलिँदोे मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण बालबालिकामा भाइरलको सङ्क्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडोभन्दा गर्मी मौसममा बढी रहन्छ । हाछ्युँ गर्दा, नजिकै बस्दा र ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकापसमा सजिलै सर्छ ।
विशेष गरी कमजोर शारीरिक अवस्था भएका बालबालिकामा रोगसित लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । परिणामस्वरुप हावामा तैरिरहने यसको जीवाणु मानिसको शरीरमा पस्दा त्यसले शरीरलाई कमजोर बनाई सङ्क्रमण निम्त्याउँछ ।
यसबाट ग्रसित बालबालिकामा आँखा रातो हुने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने, टाउको दुख्ने, ज्वरो आउने, पेट ढुस्स हुने, पेट काट्ने, दिसा पूरा नहुने, आउँ पर्ने र पटक पटक दिसा लागिरहने लगायत समस्या देखा पर्छन् । यसले बालबालिकामा बान्ता गराउने, खान मन नलाग्ने, पेट दुख्ने लगायत समस्या पनि उत्पन्न गराउँछ ।
“हेर्दा सामान्य जस्तो देखिने यो सङ्क्रमण कतिपय बालबालिकामा जटिल बन्दै गएको छ”, कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले भने,“ विशेषगरी प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा यसका कारण जाइडिया, टाइफाइड, निमोनिया, कमलपित्त लगायत अन्य समस्या देखिन थालेको छ ।”
बालबालिकालाई प्रदूषण तथा अशुद्ध पानीबाट टाढै राख्नुपर्ने चिकित्सकको भनाइ छ । विशेष गरी काठमाडौँमा हरेक दिन सङ्क्रमित बालबालिकाको सङ्ख्या बढिरहेको अवस्थामा यसतर्फ ध्यान दिनुपर्ने डा पौडेलको भनाइ छ ।
शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बदलिँदो मौसम तथा प्रदूषणका कारण बालबालिकामा सजिलै फैलने यस्ता सङ्क्रमण रोकथामका लागि दूषित पानी तथा फोहरमैलोबाट बचाउनुपर्ने बताउँछन् ।
त्यसैगरी सङ्क्रमित व्यक्तिको वरिपरि नगए, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको रुमाल भरसक अन्य व्यक्तिले प्रयोग नगरे तथा मुख छोपेर हाछ्युँ गरेका खण्डमा पनि यो रोग अन्य व्यक्तिमा रोग सर्ने खतरा कम हुन्छ । रासस