विराटनगर, २४ जेठ ।
उपप्रधानमन्त्री कमल थापाले मुलुकको सङ्कट समाधान गरेर सरकार आर्थिक समृद्धि र संविधान कार्यान्वयनतर्फ केन्द्रित रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलहरुलाई सरकारको अनावश्यक रुपमा विरोध नगरी संविधान कार्यान्वयन र मुलुकको विकासको कार्यमा सहयोग गर्न आग्रह गरे ।
नेपाली काँग्रेस, एमाले र माओवादी पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र राप्रपा नेपालले आलोचनात्मक समर्थन गरेको थियो । उनले भने, “संविधान कार्यान्वयनका लागि यतिखेर राप्रपा नेपाल अग्रसर रहेको र ती दलहरु पनि सो कार्यका लागि एकमत हुनुपर्छ ।”
नौ वर्षको अवधिमा आठवटा सरकार बनेको प्रसङ्ग उलेख गर्दै उहाँले सरकार बनेको छ महिना बित्दा नबित्दै सरकार परिवर्तन भयो भने जनतामा निराशा उत्पन्न हुने र अन्तर्राष्ट्रिय जगत्मा मुलुकको राजनीतिप्रति कस्तो सन्देश प्रवाह हुने विषयमा दलहरुलाई सोच्न सुझाव दिए ।
मुलुकमा ‘सहमति’ शब्दको व्यापक रुपमा अपव्याख्या भएकाले अहिले यो शब्द अश्लील लाग्न थालेको छ । भने, “प्रजातन्त्रमा बहुमतले सरकार बनाउने र अन्य दल प्रतिपक्षमा बस्ने गरिन्छ र साम्यवादमा प्रतिपक्षी हुँदैन ।”
संविधान निर्माणमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्दै उपप्रधानमन्त्री थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा गराउन सरकार तयार रहेको र यस कार्यका लागि नेपाली काँग्रेसलाई पनि अग्रसर हुन आग्रह गरे ।
राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले संविधानको धारा ३०३ को आधारमा पुरानै संरचनाअनुसार निर्वाचन गराउन सकिने स्पष्ट रुपमा व्यवस्था रहेको उल्लेख गरे ।
रासस
प्रकाशित मिति: २४ जेष्ठ २०७३, सोमबार १२:५६