खोटाङ, २३ जेठ । खोटाङको दिक्तेलमा आयोजित ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को उपाधि सशस्त्र प्रहरीले जितेको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा सात स्वर्ण र दुई रजतसहित सशस्त्र प्रहरीले उपाधि जितेको हो ।
प्रतियोगितामा चार स्वर्ण, दुई रजत र तीन कास्यसहित त्रिभुवन आर्मी क्लबले दोस्रो तथा तीन स्वर्ण र ११ कास्यसहित भुटान तेस्रो भएका छन् । १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि सञ्चालन गरिएको प्रतियोगितामा आयोजकले दुई स्वर्ण, सात रजत र पाँच कास्यसहित चौथो तथा एक स्वर्ण, एक रजत र दुई कास्यसहित भारत पाँचौँ भएको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी टोलीलाई समापन कार्यक्रममा कराते महासङ्घका केन्द्रीय अध्यक्ष दावा गुरुङले पुरस्कार हस्तान्तरण गरे ।
प्रतियोगिताको पुरुष ४० केजी तौल समूहमा भुटानका योन्टेन फुत्सुले स्वर्ण, आयोजकका सरोज दाहालले रजत र पूर्वाञ्चलका निश्चल खवासले कास्य पदक जितेका छन् । पुरुष ४५ केजी समूहमा भुटानका कर्मा दोर्जेले स्वर्ण, आयोजकका सुमन राईले रजत, पूर्वाञ्चलका सुमन मगर र भुटानका सोनाम डुन्डुपले आफ्नो टोलीलाई कास्य दिलाएका छन् ।
पचास केजी तौल समूहमा सशस्त्रका विजय लामाले स्वर्ण, विश्वविद्यालयका रोशन बलामीले रजत, भुटानका रिञ्जेन वाङ्गेल र आयोजकका अर्जुन श्रेष्ठले कास्य पदक जितेका छन् । यस्तै, ५५ केजी समूहमा त्रिभुवन आर्मी क्लबका मनीकुमार सुनुवारले स्वर्ण, विश्वविद्यालयका दिनेश नेपालीले रजत, भुटानका तेवान मगर र तान्छिन वाङ्गेलले कास्य पदक हात पारेका छन् ।
साठी केजी समूहमा त्रिभुवन आर्मी क्लबका शनि चौलागार्इंले स्वर्ण, विश्वविद्यालयका आशिष थापाले रजत, भुटानका सिरिङ वाङ्चुक र खमसुम क्षेत्रीले कास्य पदक दिलाएका छन् । ६७ केजी समूहमा सशस्त्रका मोहन कार्कीले स्वर्ण, आर्मी क्लबका गोविन्द बिसङ्खेले रजत, भुटानका छिरिङ पोर्जी र आयोजकका सुजन राईले कास्य पदक हात पारेका छन् ।
पचहत्तर केजीतर्फ भुटानका शेख वाङ्चुग स्वर्ण, आर्मी क्लबका सुमनकुमार कार्की रजत, भुटानका छिरिङ छोफेल र गोजोरियोका रोशन श्रेष्ठले कास्य जितेको आयोजकले जनाएको छ । यस्तै, महिला ४० केजी तौल समूहमा आयोजककी नञ्जु राईले स्वर्ण, सशस्त्रकी दीपा लामाले रजत, त्रिभुवन आर्मी क्लबकी लक्ष्मी गुरुङ र विश्वविद्यालयकी सुशीला खड्काले कास्य पदक जितिन् ।
पैँचालीस केजीमा त्रिभुवन आर्मी क्लबकी कुसुम खड्काले स्वर्ण, भारतकी मन्दिरा कार्कीले रजत, पूर्वाञ्चलका मिस्त्री श्रेष्ठ र आयोजकका रोश्मा राईले कास्य जितेका छन् । ५० केजी समूहमा सशस्त्रकी अनु अधिकारीले स्वर्ण, आयोजककी विद्याकला राईले रजत, पश्चिमाञ्चलकी उर्मिला दर्लामी र पूर्वाञ्चलकी रञ्जीता लेप्चाले टिमलाई कास्य पदक दिलाएकी छन् ।
पचपन्न केजी समूहमा आयोजककी प्रिया राईले स्वर्ण, सशस्त्रकी मनिषा चौधरीले रजत, आर्मी क्लबकी सम्झना घिसिङ र भुटानकी सलिना राईले कास्य पदक जितेकी छन् । ६० केजी समूहमा सशस्त्रकी सपना लामाले स्वर्ण, आयोजककी चन्द्रकला राईले रजत, मध्यपश्चिमकी मनिषासिं ठकुरी र पूर्वाञ्चलकी गङ्गामाया तामाङले कास्य पदक हात पारिन् ।
अठसट्ठी केजी समूहमा भने भारतकी निमु लाप्चाले स्वर्ण, आर्मी क्लबकी विभूषा थापाले रजत, भारतकै विमला लामा र आयोजकका मिसडोना राईले कास्य पदक जितेकी छन् । प्रतियोगिताको पुरुष एकल काँतामा सशस्त्रका पर्शुराम बाँस्तोलाले स्वर्ण, आयोजकका मोतीचन्द्र राईले रजत, पूर्वाञ्चलका रोहित राई र भुटानका दिवान मगरले कास्य पदक हात पारेका छन् ।
पुरुष टिम काँतामा सशस्त्र प्रहरीले स्वर्ण, मध्यपश्चिमले रजत, भुटान र आयोजकले कास्य जितेका छन् । यस्तै, महिला एकल काँतामा सशस्त्रकी सरिता श्रेष्ठले स्वर्ण, आयोजककी रोश्मा राईले रजत, विश्वविद्यालयकी कर्मा लामा र भारतकी निमु लाप्चाले कास्य जितेका छन् ।
महिला समूह काँतामा त्रिभुवन आर्मी क्लबले स्वर्ण, आयोजकले रजत, पूर्वाञ्चल र सशस्त्रले कास्य पदक हात पारेको आयोजकले जनाएको छ । प्रतियोगिताका अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट निर्णायक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई समेत पाँच–पाँच हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । रासस