काठमाडौं, २२ जेठ- एमालेले ३१ केन्द्रीय विभागलाई पूर्णता दिएको छ । यससँगै करिब सात सय नेता–कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् ।
एमालेमा संगठन, प्रचार, पार्टीको आन्तरिक मामिला र राजकीय मामिलासँग जोडिने विभाग छन् । महासचिव ईश्वर पोखरेल नेतृत्वको तीन सदस्यीय कार्यदलले विभागमा रहने नेता–कार्यकर्ताको नाम टुंग्याएको हो । कार्यदलमा सचिवद्वय पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य थिए ।
४ वैशाखको केन्द्रीय कमिटी बैठकले विभागको टुंगो लगाउने जिम्मा कार्यदललाई दिएको थियो । ३१ विभागमध्ये १४ मा संस्थापन र १७ मा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरू प्रमुख छन् ।
विभागीय प्रमुखलाई काम गर्न सहज हुनेगरी सदस्यको नाम टुंग्याइएको छ । समग्रमा नेपाल पक्षका नेता–कार्यकर्ता बढी हुनेगरी विभागले पूर्णता पाएको छ ।
ओली–नेपालको सन्तुलन ३१ विभागमध्ये महत्त्वपूर्ण मानिने संगठन विभागमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सन्तुलन मिल्नेगरी सदस्य मनोनीत भएका छन् । संस्थापनबाट प्रमुख पृथ्बी सुब्बा गुरुङ, उपप्रमुख भानुभक्त ढकाल, सचिव ज्ञानबहादुर भुजेल तथा सदस्यहरूमा शंकर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रामप्रीत पासवान, यामलाल कँडेल, बिन्दा पाण्डे, दलबहादुर राना, जगत विश्वकर्मा, केदार न्यौपानेसहित १२ जना छन् । त्यस्तै नेपाल समूहबाट सुरेन्द्र पाण्डे, राजेन्द्रप्रसाद पाण्डे, बेदुराम भुसाल, पशुपति चौलागाईं, श्रीमाया थकाली, शत्रुघन महतो, बैजनाथ चौधरी, गरिमा शाह र जीवन घिमिरेसहित नौजना छन् । तत्काल चारजना रिक्त रहे पनि दुवै पक्षले आधा–आधा भागबन्डाबाटै टुंग्याउने तयारी छ ।
गत चैत तेस्रो साता सम्पन्न स्थायी समिति बैठकमा संस्थापनले संगठन विभागमा एकलौटी गर्न खोजेको भन्दै नेपाल पक्षले आपत्ति जनाएको थियो । विवादका कारण अरू विभागका नाम पनि नटुंगिएपछि कार्यदल बनेको थियो । स्कुलसहित १० विभागमा केही सिट खाली स्कुल विभागसहित १० विभागमा भने केही सदस्य रिक्त राखिएको छ । अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको यो विभागमा २५ मध्ये १७ सदस्य मात्रै मनोनीत भएका छन् ।
त्यस्तै, आर्थिक विभागमा २२ जना, संगठनमा चार, पर्यटन प्रवद्र्धनमा दुई, विज्ञान तथा प्रविधि विभागमा एक, संसदीय विभागमा चार, उद्योग तथा वाणिज्य विभागमा एक, श्रम तथा रोजगारमा एक, संघीय मामिलामा एक, पुस्तकालय तथा अभिलेखमा ६, राष्ट्रिय सुरक्षा विभागमा दुई, जलस्रोत तथा ऊर्जा विभागमा एक सदस्य मनोनयन गर्न बाँकी छ ।
यस्ता थिए सदस्य छान्ने मापदण्ड अञ्चल सदस्य बन्ने योग्यता पुगेका, प्रादेशिक सन्तुलनका साथै समावेशितालाई ध्यान दिँदै महिला, दलित, जनजाति र मधेसी समुदायको अनिवार्य प्रतिनिधित्व हुनेगरी विभागका सदस्य छानिएको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । उनले भने, ‘कतिपय शीर्ष नेताहरूले भनेका नामलाई पनि ख्याल गरेर टुंग्याएका छौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
संस्थापन पक्षका नेता प्रमुख रहेका विभाग
स्कुल– केपी शर्मा ओली
संगठन– पृथ्वी सुब्बा गुरुङ
पर्यटन प्रवद्र्धन– सूर्य थापा
आर्थिक विभाग– विष्णु रिमाल
संसदीय विभाग– सुवासचन्द्र नेम्वाङ
युवा तथा खेलकुद विभाग– कर्णबहादुर थापा
उद्योग तथा वाणिज्य विभाग– मुकुन्द न्यौपाने
संस्कृति विभाग– खगेन्द्र राई
उपभोक्ता हित संरक्षण तथा सुशासन– घनेन्द्र बस्नेत
सामाजिक सेवा– डा. विजय सुब्बा
स्थानीय विकास– किरण गुरुङ
पुस्तकालय ता अभिलेख– काशीनाथ अधिकारी
स्वास्थ्य तथा जनसंख्या– सुजिता शाक्य
जलस्रोत तथा ऊर्जा– प्रदीप नेपाल
नेपाल पक्षका नेता प्रमुख रहेका विभाग
वैदेशिक मामिला– माधवकुमार नेपाल
प्रचार– योगेश भट्टराई
राजकीय मामिला– भीमप्रसाद आचार्य
विज्ञान तथा प्रविधि– डा. वंशीधर मिश्र
श्रम तथा रोजगार– प्रकाश ज्वाला
शिक्षा तथा मानवस्रोत– गंगालाल तुलाधर
न्याय तथा कानुन– रघुजी पन्त
सामान्य प्रशासन– ममता गिरी
अर्थ तथा योजना– सुरेन्द्र पाण्डे
राष्ट्रिय सुरक्षा– तुलबहादुर गुरुङ
सहकारी तथा गरिबी निवारण– पशुपति चौलागाईं
सहरी विकास– श्रीमाया थकाली भौतिक
पूर्वाधार तथा यातायात– डा. विजय पौडेल
कृषि तथा भूमिसुधार– ठाकुर गैरे
निर्वाचन– राजेन्द्रप्रसाद पाण्डे
वन तथा वातावरण– नागेन्द्र चौधरी
संघीय मामिला विभाग– पर्शु मेघी गुरुङ
दुई वर्षपछि विभाग पूर्ण
नवौँ महाधिवेशन भएको करिब दुई वर्षपछि एमालेले ३१ विभागलाई पूर्णता दिएको हो । ‘हामीले पोलिटब्युरो र स्थायी समिति गठनदेखि केन्द्रीय कार्यविभाजनसम्म सर्वसम्मत सम्पन्न गर्यौँ,’ पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले भने, ‘नेतृत्व संविधान निर्माणमा बढी केन्द्रित हुँदा विभागलाई पूर्णता दिन केही ढिलाइ भयो । तर, हामीले सर्वसम्मत रूपमा विभाग गठन टुंग्याएका छौँ ।’
प्रकाशित मिति: २२ जेष्ठ २०७३, शनिबार ०७:१०