काठमाडौँ, २० जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् । 
उनले भने“अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।”
आजदेखि सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह छैन, भने ।
म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ, अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु भने ।
प्रम ओली आफू अति अप्ठ्यारो अवस्थामा प्रमपद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताए ।
सडकमा तमासा नदेखाऊ
नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे । उनले भने “तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।”
काँध फेर्ने कुरा नगर
प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको बताए ।
उनले प्रश्न गरे “सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।”
बजेट छरेकै हो
प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु हुन्छ, आफूले विनियोजन नभनी छर्नु भनेको स्पष्ट पारे ।
पैसा पोको पारेर कहाँ विकास हुन्छ ? शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो उनले बताए ।
प्रम ओलीले सिंहदरबारमा पैसा पोको पारेर राखेर देश विकास नहुने भन्दै चर्चा गर्दै लगानी गरे पो प्रतिफल आउँदछ भने ।
विगतका सरकार तरकारी बारीका बुख्याचा
प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाए । “बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ” उनले भने । रासस
प्रकाशित मिति: २० जेष्ठ २०७३, बिहीबार १५:५२