खबरइरा संवाददाता
सुर्खेत, १६ जेठ–एउटा खानेपानी आयोजना १५ देखि २० वर्षसम्म वृद्धि हुने जनसंख्यालाई आधार मानेर डिजाइन गरिन्छ र निर्माण गरिन्छ । तर पूर्वी सुर्खेतको मेहेलकुनामा निर्माणधीन खानेपानी आयोजना डिजाइन गरिने अवधि सकिंदा समेत पुरा भएको छैन् ।
भेरी नदी किनारको बस्ती मेहेलकुनामा खानेपानी ल्याउन तीन दशकमा तीन वटा आयोजना सञ्चालन गरिए तर अहिलेसम्म कुनै आयोजना पुरा भएनन् । स्थानीयका लागि भेरीको धमिलो पानी कहिल्यै छुटेन ।
राजनीतिक परिवर्तनका अवस्था फेरिंदै गर्दा मेहेलकुनाको खानेपानी आयोजनाको स्वरुप पनि फेरिने गरेको छ । जुन खानेपानी आयोजनाले पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई समेत पार गरेको छ, तर पनि अधुरै छ ।
२०२४ सालमा मेहेलकुनामा बसेको बस्तीले २०७३ सालमा पनि भेरी नदीकै धमिलो पानी खानु परेको छ । खानेपानी आयोजना भने क्रमागत रुपमा निरन्तर चलिरहन्छ, तर पुरा भई सर्वसाधारणले पानी खान पाउँदैनन् ।
मेहेलकुनामा खानेपानी सुविधा दिन धारापानीको धगेचरीबाट २०३४ सालमा करिब ६० लाख रुपैयाँको लागतमा सुरु गरिएको खानेपानी आयोजनाको लागत अहिले १० करोड ३४ लाख पुगेको छ भने मुहान चार वटा पुगेका छ
न् भने स्थानीयका लागि स्वच्छ खानेपानी अझै सपनानै छ ।
मेहेलकुनाका वासिन्दालाई खानेपानी उपलब्ध गराउन धारापानीको धागेचरीबाट शुरु गरिएको आयोजना पुरा नहुँदै बन्द हुन पुग्यो । दोस्रो पटक मालारानी गाविसको कोटखोलामा भएको मुहानबाट मेहेलकुनामा पानी ल्याउन ०४९ सालमा पुन: काम थालिएको थियो । करिब ७२ लाखको लागतमा निर्माण गरी ०५३ सालमा उपभोक्तालाई हस्तान्तरण गरिएको खानेपानी आयोजना धेरै समय चल्न सकेन र त्यो पनि बन्द हुन पुग्यो ।
मेहेलकुना वासीलाई खानेपानी उपलब्ध गराउनका लागि तेस्रो पटक आयोजना सुरु गरियो, जुन आयोजना २ करोड २२ लाख रुपैयाँ थियो । तीन वर्षको अवधिमा करिब ४० लाख रुपैयाँ खर्च भयो, तर पनि खानेपानी स्थानीयले पाएनन् । बजेट थोरै आउने काम नहुने अवस्थाबाट गुर्जिएको चौथो पटक पुनरावलोकन हुन पुग्यो ।
मालारानीबाट १६ किलोमिटर पार गरी ल्याइने साढे २ लिटर प्रतिसेकेण्ड क्षमता भएको पानी १ हजार ५ घरधुरीलाई उपलब्ध गराउने आयोजना पुरा नहुंदै चार वर्षमै पुरावलोकन गरियो । २०६९/७० मा पुनरावलोकन गरिएको आयोजनाको लागत ४ करोड ६६ लाख रुपैयाँ पुग्यो, तर पनि स्थानीयले पानी पाएनन् ।
मेहेलकुनामा बस्ती विस्तार र शहरीकरण बढदै गएकाले सार्वजनिक धारबाट पानी दिन नसक्ने अवस्था भएपनि वैकल्पिक स्रोतलाई प्रयोग गरेर पानी खुवाउन पुनरावलोकन गरिएको क्षेत्रीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका डिभिजनल इन्जिनियर आविद हुसैनले बताए ।
मेहेलकुनाका १ हजार बढी घरधुरीलाई निजि धारा गर्न नयाँ आयोजना बनाउने क्रममा पुनरावलोकन गरिएको आयोजनाको काम झण्डै ९० प्रतिशत पुरा भएको डिइ हुसैनको दावी छ । भेरी किनारबाट इनार बनाइ लिफ्ट गर्ने योजना अनुरुप भएको काम भएको उनको भनाई छ ।
उक्त आयोजना अन्तर्गत इनार, विधुत लाइन, पम्म घर, इनार देखि टंकी सम्मको जिआइ पाइप, १०० घन मिटर क्षमताको संकलन पानी टंकी, १६ घन मिटरका चार वटा पानी टंकी निर्माण भइसकेको छ ।
इनारको पानी प्रयोग गरेर निर्माण गर्न लागेको उक्त आयोजनासंगै मेहेलकुनाको बडाखोली क्षेत्रका लागि दोस्रो स्किमको खानेपानी आयोजना निर्माण गर्न स्वीकृतका लागि पठाइएको डिइ हुसैनले जनाएका छन् । उनले थप ४ सय घर धुरीका लागि धारा वितरण गर्न दोस्रो स्किम आवश्यक भएकोले प्रक्रिया अगाडि बढाएको बताए ।
बडाखोलीका बासिन्दा समेतलाई खानेपानी सुविधा प्रदान गर्न पाँचौ पटक आयोजना पुनरावलोकन गरिएको छ र आयोजनाको लागत पाँचौ पटकमा जनश्रमदान समेत १० करोड ३४ लाख रुपैयाँ हुन पुगेको छ । पाँचौं पटक पुनरावलोकन गरिएको आयोजना भने स्वीकृतिको चरणमै रहेको कार्यालयले जनाएको छ ।
वर्षा होस् वा गर्मी संधै भेरीको पानी खाँदै आएका मेहेलकुना वासीको बस्ती बस्दा देखिको सफा पानी पाउने सपना अहिलेसम्म अधुरै छ । आयोजना पाँचौ पटकसम्म पुनरावलोकन गरिएको छ तर पनि स्थानीयले पानी पाउने अझै टुङ्गो छैन् ।
प्रकाशित मिति: १६ जेष्ठ २०७३, आईतवार १५:२२