यस्तो हुने भो, भेरी बबईको टनेल बोरिङ मेशिन
सुर्खेत, १५ जेठ–राष्ट्रिय गौरबको भेरी बबई बहुद्देश्यीय आयोजनाका लागि प्रयोग हुने मेशिनको डिजाइन टुङ्गो लागेको छ । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड(कोभेक) ले अमेरिकी कम्पनी (robbins) संग सम्झौता कार्य प्रारम्भ गरेपछि टनेल बोरिङ मेशिन निर्माणको प्रक्रिया पनि अगाडि बढेको भेरी बबई बहुद्देश्यीय आयोजनाले जनाएको छ ।
भेरी बबई निर्माणमा टनेल बोरिङ मेशिन प्रयोगसंगै नेपाली प्राविधिकको सम्लग्नतामा निर्माण हुन लागेको पहिलो डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन प्रयोग हुने भएपछि पूर्वाधार विकासमा नेपाली प्राविधिकले फड्को मारेका छन् । जुन नेपालकै लागि गौरवको कुरो हो ।
आयोजनाको मुख्य काममा प्रयोग गरिने टनेल बोरिङ मेशिन डिजाइनको टुङ्गो लागेको करिब दश महिनाको अवधिमा तयार हुने छ । जुन टनेल बोरिङ मेशिन अबको एक वर्ष भित्र निर्माण स्थलमा ल्याउने निर्माण कम्पनीको योजना छ ।
सुरुङ निर्माणकै अवधिमा ड्याम र विधुत गृह समेत निर्माण गर्ने योजना बनाएको भेरी बबई आयोजनाले सुरुङ निर्माणको प्रगतिका आधारमा वांकी कामको ठेक्का गरिने आयोजनाका सिनियर डिजनल इन्जिनियर मीनराज ढकालले बताए । उनका अनुसार सुरुङ सकिने वेलामा ड्याम र विधुत गृह पनि तयार गरिने छ ।
१२ किलोमिटर सुरुङ मध्ये सुरुको ६ किलोमिटर खण्डमा पर्ने टोली खोलामा सुरुङ देखि जमिनको सतह २ सय मिटर अन्तर भएकाले उक्त खण्डलाई जोखिमका रुपमा लिइएको सिनियर डिजनल इन्जिनियर ढकालले जानकारी दिए ।
टनेल बोरिङ मेशिनले दैनिक १५ मिटरका दरले महिनामा साढे चार सय मिटर सुरुङ निर्माण गर्ने भएकाले कुल १२ किलोमिटर सुरुङ २७ देखि ३० महिना अर्थात साढे दुई वर्षमा पुरा हुने छ । चिनिया कम्पनीले टनेल बोरिङ मेशिनबाट सुरुङ निर्माण गर्दा एक महिनामा १ किलोमिटरसम्म काम गरेको रेकर्ड रहेको आयोजनाका डिई ढकालले जानकारी दिए ।
आयोजनाको सुरुङ निर्माण गर्ने टनेल बोरिङ मेशिन आउनु अघि २०१६ अगस्ट ६ सम्म मेशिन राख्ने स्थान १ सय ५० मिटर सुरुङ तयार गरिने योजना रहेको आयोजनाले जनाएको छ । टनेल बोरिङ मेशिन (टिविएम) राख्नका लागि प्लेट फर्मको रुपमा १ सय ५० मिटर सुरुङ पुरानै प्रविधिबाट निर्माण गरिने छ ।
निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडले पहिलो चरणमा सडक, क्याम्प निर्माण, सेग्मेन्ट प्रोडक्शन प्लान्ट, टिविएम प्लेट फर्म लगायतको काम गरेको आयोजनाले जनाएको छ ।
४ जुन, २०१५ मा भएको ठेक्का सम्झौता बमोजिम निर्माण कम्पनीले ४ वर्ष १० महिना अर्थात सन् २०२० अप्रिल ३ मा सुरुङ निर्माणको काम सम्पन्न गर्ने समय तालिका आयोजनालाई उपलब्ध गराएको छ ।
आयोजना निर्माणको जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेडलाई मोविलाइजेसन वापत पहिलो चरणमा करिब ९० करोड १२ लाख रुपैयाँ भुक्तानी गरिएको आयोजनाले जनाएको छ । आयोजनाका लागि चालु वर्षमा पनि १ अर्ब १४ करोड रुपैयाँ बजेट सरकारले छुट्याएको छ ।
भेरी बबईको सुरुङ निर्माण गर्न पहिलो चरणमा गरिएको ठेक्कामा चाइना ओभरसिज इन्जिनियरिङ गुरुप कम्पनी लिमिटेड(कोभेक)ले चार वर्ष १० महिनामा निर्माण गर्ने गरी १० अर्ब ५६ करोडको लागतमा १२ किलोमिटर सुरुङ निर्माणको सम्झौता गरेको थियो ।
सुरुङ निर्माणका लागि करिब साढे १० अर्ब रुपैयाँमा ठेक्का भएको र ड्याम तथा विधुत गृह निर्माण गर्न थप १२ अर्ब अति लाग्ने अनुमान गरिएको छ । जुन आयोजनाबाट ४८ मेगावाट विधुत उत्पादन हुने छ ।
त्यति मात्र नभई भेरी बबई आयोजना निर्माण सम्पन्न भएपछि नियमित रुपमा ४८ मेगावाट विधुत उत्पादन हुनुकासाथै बाँके र बर्दियाको ५१ ह्जार हेक्टर जमिनमा सिंचाई सुविधा पुगी वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी हुने छ ।
परिक्षण सफल भए विकास निर्माणमै फड्को
टनेल बोरिङ मेशिन प्रयोग गरी सुरुङ निर्माण गर्ने नेपालकै पहिलो र परिक्षण योग्य भेरी बबई बहुउद्देश्यीय आयोजना तोकिएको समयमै निर्माण सम्पन्न भएमा पूर्वाधार विकासमा नेपालले फड्को मार्ने छ । यो आयोजना सफल भएमा यस्ता थप आयोजनाका लागि बाटो खुल्ने छ ।
भेरी बबई आयोजनासंगै अध्ययनमा रहेका सुनकोसी–मरिन, सुनकोसी–कमला, त्रिशुली–चितवन र माडी–दाङ लगायतका आधा दर्जन बढी डाइभर्शन आयोजनाको भविश्व जोडिएको आयोजनाका सिनियर डिजनल इन्जिनियर ढकाल बताउँछन् । उनी भन्छन्, ‘ठूला नदीको पानी डाइभर्ट गरी विधुत र सिंचाईमा प्रयोग गरिने भएका कारणले पनि भेरी बबई पहिलो परिक्षण योग्य आयोजना हो ।’
भेरी बबई आयोजनाको भविश्य यति मात्र होइन, सुरुङ मार्ग, रेलमार्ग र निर्माणाधीन अवस्था वा अध्ययनमा रहेका ठूला जलविधुत आयोजना निर्माणका लागि पनि बाटो खुल्ने छ । टनेल बोरिङ मेशिन प्रयोग गर्दा छिटो र गुणस्तर कायम गर्न सकिने भएको हुनाले पनि भेरी बबईमा सबैको ध्यान केन्द्रित भएको आयोजनाका डिई ढकालको भनाई छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०७३, शनिबार ०९:२५