जाजरकोट, ९ जेठ । खगेनकोट–५ का मानहादुर खत्री दुई दशकअघि नेपालगन्ज गएर घ्यू बिक्री गर्नुहुन्थ्यो । त्यही रकमले ढिके नुन खरिद गरी घर फर्कनुहुन्थ्यो । यो सबैथोक गर्न उहाँलाई दुई महिनाको समय लाग्थ्यो ।
यातायात सुविधा नभएका कारण यहाँका स्थानीयवासी प्रत्येक ६ महिनामा कपडा, भाँडा, अनि नुनका लागि हिँडेर नेपालगन्जसम्म पुग्ने गर्दथे । अहिले आफ्नो घर नजिकै भएर यातायातका साधन गुड्दा यहाँका स्थानीयवासी निकै खुसी देखिन्छन् । उनीहरुले थुप्रै लाभ लिएका छन् । आफूले उत्पादन गरेको तरकारी, जडीबुटी, घ्यू बजारसम्म समयमै पु¥याउन सकेका छन् । बजारमा पाइने आवश्यक वस्तु आफूले सजिलै प्रयोग समेत पाएका छन् ।
छिन्चु– जाजरकोट सडक खण्डको १०७ किलोमिटर निर्माण कार्य पूरा भइसकेको छ । जाजरकोटको पासागाडदेखि डोल्पाको दुनैसम्मको ११८ किलोमिटर सडक अहिले नेपाली सेनाले निर्माण गरिरहेको छ । करिब ७३ किलोमिटर सडकमा यातायात सञ्चालनमा छ ।
जाजरकोट खण्डको सडक निर्माण कार्य पूरा गरी रुकुमको गोतामकोट छरेबगरसम्म यातायात सञ्चालनमा आएको छ । डोल्पाको त्रिवेणीसम्म असारसम्म यातायात सञ्चालनमा आउने नेपाली सेनाका निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । नेपाली सेनाले यो सडकखण्डमा विगत १० वर्षदेखि नियमितरुपमा स्थानीय बासिन्दासँग मिलेर सडक निर्माण गरिरहेको छ ।
राष्ट्रिय महत्वको सडक भए पनि सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा निर्माण कार्य तिब्र गतिमा जान नसकेको पूर्व शान्ति मन्त्री सत्या पहाडीको गुनासो छ । उक्त सडकलाई पर्याप्त बजेट सरकारले विनियोजन गरेमा भेरी करिडोर सडकको विकास, विस्तारसँगै चीनसँग जोड्ने मुख्य नाका खोलिँदा विकासमा थप टेवा पुग्ने पहाडीको भनाइ छ ।
सडक निर्माण भई यातायात सञ्चालन भएको ७३ किलोमिटरमा अहिले भेरी नदीमा तुईनबाट यातायातका साधन तारेर यातायात सञ्चालनमा ल्याइएको छ । भेरी नदीमा दुई दर्जन भन्दा बढी साना ठूला पुल निर्माण गर्न बाँकी भएका कारण नेपाली सेना र स्थानीयवासीको पहलमा तुईन निर्माण गरिएको हो ।
रिम्ना, चिसापानी, दल्ली कालीमटी, छेराबगर, खदाङ, सुपानी लगायतका ठाउँमा कडा चट्टान भएका कारण पुल निर्माणमा ढिलाई भइरहेको छ । नेपाली सेनाका अनुसार रोल्पा सडखण्डमा मात्र १० लाख घनमिटर कडा चट्टान फोर्न बाँकी छ । तोकिएको समयमा विस्फोटक पदार्थ र पेट्रोलियम पदार्थ आपूर्ति हुन नसक्दा समेत निर्माणमा ढिलाई भएको हो ।