कुन्दुज, ८ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा एकजना सरकार समर्थित नेताको एम्बुसमा पारेर हत्या गरिएको समाचार छ ।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शुक्रबार बिहान ती नेताको हत्या भएको समाचारमा जनाइएको छ । अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन् ।
शुक्रबार राति हतियारधारीहरुले ती नेताको घर नजिकै एम्बुस थापेका थिए । सो एम्बुसमा परी सरकार समर्थित नेता नुर मोहम्मद काकरको ज्यान गएको हो ।
उत्तरी कुन्दुजको क्वाली जाल जिल्लामा रहेको उहाँको निवासनजिकै उक्त एम्बुस थापिएको थियो । एम्बुसमा परी ती नेताको घटनास्थलमै ज्यान गएको छ ।
उक्त जिल्लाका गभर्नर महबुबुल्लाह सायदीले दिएको जानकारीअनुसार उहाँको निवास नजिकै उहाँलाई लक्ष्य गरेर उक्त एम्बुस थापिएको थियो ।
उहाँ अफगानिस्तानमा सरकार समर्थित र प्रभावकारी नेताका रुपमा रहनुभएको थियो । उहाँका छोरालाई पनि पहिले नै तालिवानहरुले गोली हानी हत्या गरेका थिए ।
उक्त हत्याको जिम्मेवारी कसैले लिएको छैन । तर पनि गभर्नर साइदिले हत्यामा तालिवान सशस्त्र विद्रोहीहरुको हात रहेको दाबी गर्नुभएको छ ।
गएको अप्रिल महिनादेखि तालिवानहरुले नागरिकमाथिको आक्रमणलाई सशक्त बनाएका छन् । उनीहरुले गरेको आक्रमणमा परी यस वर्षको सुरुका चार महिनामा कम्तीमा पनि ६०० सर्वसाधारण नागरिक मारिएका छन् ।
त्यसैगरी यस अवधिमा अफगानिस्तानका विभिन्न क्षेत्रमा गरी एक हजार ३०० भन्दा बढी नागरिक घाइते भएका छन् ।
घाइतेमध्ये धेरैजना बम तथा गोली लागेर अङ्गभङ्ग भई बाँचेका त कतिपय अस्पतालमै उपचाररत रहेका बताइन्छ । रासस÷एपी
प्रकाशित मिति: ९ जेष्ठ २०७३, आईतवार ०७:४९