काठमाडौ २१ कात्तिक । शरीरमा फैलिएको क्यान्सरको ‘स्टेज’ पत्ता लगाउन चार वर्षअघि सरकारले ल्याउने भनेको पेट स्क्यान मेसिन खरिद अझै अन्योलमा छ ।
स्वास्थ्य मन्त्रालयको निष्क्रियता र भरतपुरको बिपी कोइराला क्यान्सर अस्पताल विकास समितिको बेवास्ताले मेसिन खरिद अन्योल भएको हो । पेट स्क्यान मेसिन खरिद गर्न सरकारले तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ ।
पटकपटक गरी सरकारले ९५ करोड रुपैयाँँ बजेट छुट्याइसकेको छ । तर, न्यूनतम ३५ देखि बढीमा ५६ करोड रुपैयाँँ पर्ने मेसिन अझै खरिद हुन सकेको छैन ।
तीन वर्षअघि सो मेसिन किन्ने भनेर ३५ करोड छुट्याइएको थियो । दोस्रो वर्ष ४५ करोड र चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँँ छुट्याइएको छ ।
पूर्वराष्ट्रपतिले पहल गरेका थिए
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई प्रोस्टेट क्यान्सरको शंका गरिएको थियो । उनलाई जापान लगेर उपचार गराउन चिकित्सकले सल्लाह दिएका थिए । तर, जापानमा गएर परीक्षण गर्दा उनलाई क्यान्सर नभएको प्रमाणित भयो ।
जापानबाट फर्कनसाथ डा. यादवले नेपालमा नै पेट स्क्यान किन्न तत्कालीन स्वास्थ्यमन्त्री विद्याधर मल्लिकलाई निर्देशन दिएका थिए । यादवकै पहलमा आव ०७१-७२ मा मेसिन खरिद गर्न सरकारले ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
समितिको बैठक नबस्दा किन्न सकिएन : समिति अध्यक्ष पेट स्क्यान मेसिन किन्ने प्रक्रिया अगाडि बढे पनि वैशाखदेखि अस्पताल विकास समितिको बैठक बस्न नसक्दा मेसिन किन्न नसकिएको बिपी कोइराला क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष डा. प्रकाश न्यौपानेले बताए । ‘टेन्डरदेखि स्वीकृतिसम्म सबै काम बोर्डको बहुमतबाट हुन्छ,’ न्यौपानेले भने, ‘१४ सदस्यीय विकास समितिमा हाल पाँचजना मात्र पदेन सदस्य हुँदा निर्णय गर्ने अवस्था नै छैन ।’
समितिले पूर्णता पाउनासाथ प्रक्रिया अगाडि बढ्ने उनको दाबी छ । मेसिन नहुँदा वार्षिक १४ सय बिरामी भारतमा भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. देजकुमार गौतमका अनुसार दैनिक करिब चार बिरामी पेट स्क्यानका लागि भारत जाने गरेका छन् ।
भारतमा एकपटक पेट स्क्यान गरेको ३५ देखि ५० हजार रुपैयाँसम्म लाग्ने गर्छ । मेसिन ल्याउन सके बढीमा २० हजारमा परीक्षण गर्न सकिने उनले बताए । ‘नेपालमा पेट स्क्यान मेसिन नहुँदा बिरामीको परिवारलाई आर्थिक भार पर्ने गरेको छ । भारत जाने–आउने गर्दा बिरामीलाई मानसिक तनाव र दबाब दुवै हुन्छ ।’नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार ०८:०४