काठमाडौं । पहिलो चरण निर्वाचनमा मतदाता शिक्षा अभावका कारण धेरै मत बदर भएपछि दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।
मतदाता शिक्षा अन्तर्गत निर्वाचन आयोगले विभिन्न मतदाता शिक्षा सम्बन्धी सामग्री प्रकाशन र प्रसारण समेत गरेको छ । त्यस मध्ये मतपत्रमा सहि तरिकाले मतसङ्केत गर्ने तरिकाको सम्बन्धमा निर्वाचन आयोगद्वारा तयार गरिएको भिडियोले मतदातालाई सहि तरिकाले मतदान गर्न सहयोग मिल्ने छ।
स्थानीय तह निर्वाचनमा मतदान गर्ने सहि तरिका सम्बन्धी भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा यही असार १४ गते निर्वाचन हुँदै छ । जुन निर्वाचनका लागि आइतबार ती तीनवटै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएका छन् ।
बांकी रहेको २ नम्बर प्रदेशमा भने तेस्रो चरणमा असोज २ गते निर्वाचन हुने भएको छ ।
पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिकाबाहेक अन्य सबै तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ ।
आयोगका अनुसार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदै छ ।
निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् भने १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।
प्रकाशित मिति: ५ असार २०७४, सोमबार ०९:००