बैतडी, ५ असार । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि झुलाघाट पक्की पुल निर्माणका लागि पहल भइरहेको बताएका छन् ।
बैतडीमा मन्त्री थापाले बैतडीको सीमा नाका झुलाघाटमा पक्की पुल निर्माणका लागि राजनीतिक तहमै छलफल सुरु भइसकेको बताए । दार्चुलामा पनि पुल बनाउनका लागि अब छलफल गर्छौं उनले भने–“परराष्ट्र मन्त्रीस्तरीय बैठकमा आफूले यी दुवै पुल निर्माणका लागि पहल गर्ने छौँ ।”
राप्रपा नेपालले आयोजना गरेको हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्नका लागि बैतडी अाइपुगेका मन्त्री थापाले जिल्लामा भइरहेको विकास निर्माण सन्तोषजनक भएको भए पनि उत्साहप्रद नभएको बताए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको समेत कार्यभार सम्हालेका मन्त्री थापाले विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अगाडि बढेको बताउँदै मन्त्री थापाले आयोजनाको डिपिआर निर्माणको काम भइसकेको बताए । उनले भने– “अब केही हप्ताभित्रै पञ्चेश्वर आयोगको संयुक्त बैठक बस्ने तयारीसमेत भइरहेको छ ।”
देशको आर्थिक विकास एवम् सबै नागरिकलाई आत्मनिर्भर बनाउन राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिँदै राजनीतिक स्थिरता कायम भए आर्थिक विकास हुने र आर्थिक विकास भए रोजगारीका सम्भावना बढ्ने बताए ।
हिन्दू राष्ट्र कायम हुनुपर्ने अभियानमा लाग्दै आएका मन्त्री थापाले आफूले संविधानअनुसार धर्मको रक्षा गरिरहेको जानकारी गराउँदै नेपालको संविधानमा धर्म निरपेक्षता लेखेको भए पनि धर्म निरपेक्षताको व्याख्यामा सनातन धर्मको संरक्षण रहेको भन्दै आफूले सोही संवैधानिक दायित्व पूरा गरिरहेको बताए ।
संविधान निर्माण भएसँगै संविधान कार्यान्वयनको जिम्मेवारी सबैको भएको भन्दै सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको र आगामी २०७४ मा आमनिर्वाचन घोषणा गरेकाले ती दुवै निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मधेसवादी दलहरुले गरिरहेको आन्दोलनका विषयमा बोल्दै मन्त्री थापाले मधेसवादी दलहरुले उठाएका धेरैजसो माग सम्बोधन भइसकेको र सीमाङ्कनको विषयमा पनि सैद्धान्तिक सहमति भइसकेको जानकारी गराए ।
यसैबीच राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री थापाले हिन्दुत्व बचाउनका लागि आफ्नो पार्टीले अभियान चालेको बताए ।
राप्रपा नेपाल बैतडीले गोठलापानीमा आयोजना गरेको बृहत् हिन्दुत्व जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले केही विदेशीहरुले पैसाको लोभलालचमा धर्म परिवर्तनको खेल खेलिरहेको बताए ।
‘‘धर्म परिवर्तनको महारोग सल्किरहेको र यो रोक्न नसके प्राचीन संस्कृति नष्ट हुनेछ’’ उनले भने – “धर्म परिवर्तनको रोगले नेपालीको एकता र सद्भावलाई बिथोलेको छ ।” नेपालमा जन्मेर मात्रै नेपाली नहुने भन्दै अध्यक्ष थापाले संस्कृति र धर्मका हिसाबले नेपाली पहिचान भएको समेत उनले बताए ।
यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य गोविन्द खडायतले देशको धर्म र संस्कृतिको रक्षा गर्ने पार्टी राप्रपा नेपाल मात्र भएको दाबी गरे ।
यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य पुष्करराज जोशी लख्खाभाइले अखण्ड सुदूरपश्चिमको आन्दोलन सफल भएको र अब हिन्दूराष्ट्र पनि कायम गरेरै छाड्ने बताए ।
राप्रपा नेपाल बैतडीका अध्यक्ष प्रेमबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको सभामा राप्रपा नेपाललाई सहयोग गर्ने विभिन्न महानुभावलाई सम्मानसमेत गरिएको थियो ।
यसअघि स्थानीय निकायका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री थापाले दत्तचित्त भएर काममा लाग्न निर्देशन दिए ।
गाविसका सचिवका समस्या सम्बोधनका लागि सरकार तयार रहेको बताउँदै उनले स्थानीय निकायमा केही महिनापछि जनप्रतिनिधि आउने दाबी गरे । मन्त्री थापाले सवल र सक्षम स्थानीय निकाय हस्तान्तरणका लागि तयार रहन निर्देशन दिए ।