काठमाडौँ, २२ भदौ । नेकपा माओवादीले वर्ग सङ्घर्षबाट मात्र सहिदले कल्पना गरेको सपना साकार हुने भएकाले आफूहरुले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको जनाएको छ ।
दशवर्षे जनयुद्धका सहिद शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा नेकपा माओवादी सिन्धुलीले राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा माओवादी नेताहरुले सहिद विशाल र सहिद कुमारले जनयुद्धमा खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँहरुको रगत खेर नजाने बताए।
नेकपा माओवादीका स्थायी समिति सदस्य ईश्वरी दाहाल ‘काका’ले ती सहिदको सपना अझै अधुरो रहेको बताउँदै एकीकृत जनक्रान्तिमार्फत उनीहरुको सपना पूरा गर्ने अठोट व्यक्त गरे ।
त्यसैगरी, अर्का स्थायी समिति सदस्य एवम् केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले सहिदको सपना साकार पार्न वर्गीय सङ्घर्ष पूरा गर्न आफूहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा हामफालेको बताए ।
पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालको जनयुद्ध हाल आएर सुधारवादी, विसर्जनवादी र क्रान्तिकारी धारमा विभाजन भएको बताए । उनले थपे–“बाबुरामजीले बुर्जुवा, प्रचण्डले सुधारवादी, वैद्यले विसर्जन र विप्लवले क्रान्तिकारी धारको नेतृत्व गरिरहेका छन् ।”
“नेपालमा लेनिन र माओको तरिकाले मात्र क्रान्ति सम्पन्न हुँदैन । क्रान्ति सम्पन्न गर्न नेपाली मौलिकताको सिद्धान्त अनिवार्य छ । त्यो भनेको कमरेड विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको सिद्धान्त नै हो”, पौडेलको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य चिरन पुन, सिन्धुली–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कटुवाल, छेवाङ तामाङ लगायतले सहिद विशाल तथा कुमारको योगदानमाथि चर्चा गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवम् पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्कीले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत उनीहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य विशाल र वैकल्पिक केन्द्रीय सदस्य कुमारको २०६१ साल भदौ २० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो । कार्यक्रममा सहिद विशालकी छोरी निशा कँुवरलाई सम्मान गरिएको थियो ।
रासस
प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार ०७:१३