मुगु । मुगु जिल्ला सदरमुकाममा वितरित विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम लगायत आसपासका क्षेत्र अन्धकार भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गमगाढ वितरण केन्द्रको पावर हाउसमा रहेको गर्भनरको प्रेसरमोटर जलेर समस्या आउँदा बुधबार रातीबाट विद्युत सेवा अवरुद्ध भएको हो ।
विद्युत सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडा मध्ये विद्युत सेवा पुगेका ११ वडाका २ हजार ८०४ ग्राहक अध्यारोमा बस्नु परेको छ भने सरकारी, गैर सरकारी र वित्तिय संस्थामा कामकाज गर्न समस्या भएको छ ।
बुधबार राती ११ बजे पावर हाउसमा रहेको मोटरमा समस्या आएर विद्युत उत्पादनमा अवरोध आएको थियो । मुगु जिल्लाका करिव १० हजार घरधुरीलाई लक्षित गरि स्थापना गरिएको गमगाढ साना जलबिद्युत आयोजना पटक पटक बिग्रीन थालेपछि स्थानीय बासिन्दाले सास्ती व्यहोर्दै आएका छन् ।
मासिक रुपमा करिव ३९ हजार ६ सय ७ युनिट बत्ती खपतबाट करिब ३ लाख ५० हजार रुपैयाँ मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत आयोजनाले जनाएको छ ।
कुल ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको विद्युत उत्पादन केन्द्रमा जडितचाईना कम्पनीका यी मोटरहरु ५, ६ पटक रिपियरिङ्ग गरेर काम चलाउ गर्दै आएको भएपनि पटक पटक पाटपुर्जाहरुमा समस्या आउने गरेकाले प्राधिकरणले पुरानोे प्रविधिको विद्युत उत्पादन सिस्टमलाई विस्थापित गरि आधुनिक सिस्टमका मेसनि जडान गरि विद्युत उत्पादन गर्नु पर्ने गमगाड साना जल बिद्युत आयोजना मुगुका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताउनु भयो । यस अघि पनि साउन २३ गते नोजलमा समस्या आउँदा मर्मत तथा नयाँ खरीदका लागि पहल भैरहेको थियो भने काम चलाउ गरेर त्यस यता विद्युत उत्पादन हुँदै आएको थियो ।
विगतमा लामो समयसम्म आयोजना सम्पन्न नहुँदा खिया लागेर सुर्खेत, रारा विमानस्थल र बालैबगरमा अलपत्र रुपमा रहेका विद्युत मेसिन नै जडान गरेर गमगाढ साना जलविधुत आयोजनाले विद्युत उत्पादन गरेकाले पटक पटक विद्युत उत्पादनमा समस्या आउने गरेको छ । समय मै विद्युत गृहमा रहेका पुराना मेसिन तथा अन्य सामान परिवर्तन नगर्ने हो भने जुनसुकै बेला ति मेसिनमा समस्या आई लामो समयसम्म जिल्ला सदरमुकाम र आसपासका क्षेत्र अन्धकार मै रहनु पर्ने अवस्था आउन सक्ने गमगाढ वितरण केन्द्रका कर्मचारीहरुको भनाई छ ।
विदुत गृहमा जडित मेसिन पुरानो मोडलका भएका र अहिले बजारमा त्यो मोडलका सामान पाउन मुस्किल हुने गरेको छ । विद्युत गृहमा सानो सानो समस्या आएपनि चाईनाको कम्पनीसंग सोध्नु पर्ने र त्यहीबाट सामान उठाउनु पर्ने अवस्थाले झन समस्या हुने गरेको गमगाढ वितरण केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: १९ भाद्र २०७७, शुक्रबार १२:०४