सुर्खेत, २३ भदौ । सुर्खेत जिल्लामा लक्षित वर्गहरुले संचालन गरेका विभिन्न योजनाहरु मध्ये धेरैजसो रकम क्षमता विकास तालिममै रकम खर्च हुने गरेको छ । जिल्ला विकास समितिले गत आव २०७२/०७३ मा कूल १८५ योजनामा १ करोड २० लाख रुपैयाँ खर्च भएको जनाएको छ । यसमा धेरैजसो रकम क्षमता विकास र सीप विकास तालिममै सकिएको जिल्ला विकास समिति सुर्खेतले जनाएको छ ।
बालबालिका, महिला, अपांग, पिछडिएको वर्ग, आदिवासी जनजाति, दलित, ज्येष्ठ नागरिक र मुश्लिम लक्षित वर्गबाट जिविसमा विभिन्न योजनामा रकम माग गरेका थिए । सवैभन्दा धेरै योजना दलित लक्षित वर्गबाट परेपनि रकम बढी पाउनेमा महिला तर्फका योजनाहरुले ३२ लाख ६६ हजार पाएका छन् । दलित लक्षित वर्गका ४६ योजनामा २० लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । आदिवासी जनजातिबाट परेका ४३ वटा योजनाका लागि १८ लाख २५ हजार रुपैयाँ खर्च भएको जिल्ला विकास समिति सुर्खेतले जानकारी दिएको छ ।
महिला लक्षित ३९ योजनाका लागि ३२ लाख ६६ हजार, बालबालिका लक्षित २७ योजनाका लागि ३१ लाख ३० हजार, अपांग लक्षित १८ योजनाका लागि ६ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । ज्येष्ठ नागरिकका ७ योजनाका लागि ९ लाख ५० हजार, मुश्लिम लक्षित ४ योजनाका लागि २ लाख ५० हजार र सवैभन्दा कम पिछडिएको बर्गको एउटा योजनाका लागि ५० हजार रुपैयाँ बजेट खर्च भएको जिल्ला विकास समिति सुर्खेतले जनाएको छ ।
लक्षित वर्गले धेरैजसो क्षमता अभिवृद्धि, आयआर्जन, सीप विकास, पूर्वाधार लगायतका योजनाहरु हालेका थिए । त्यसमा पनि धेरैजसो क्षमता अभिवृद्धि तालिममै बजेट खर्च हुने गरेको छ । जिल्ला विकास समिति सुर्खेतका योजना अनुगमन तथा प्रशासन अधिकृत रामबहादुर बुढाका अनुसार लक्षित बर्गले आफ्ना हकअधिकार, भाषा संरक्षण, आयआर्जन, क्षमता विकासजस्ता विभिन्न नाममा योजना संचालन गर्ने र त्यसैमा रकम खर्च हुने गरेको छ । सवैभन्दा कम योजना पूर्वाधारमा पर्ने गरेको छ भने सवैभन्दा धेरै योजना क्षमता विकास तालिममा पर्ने गरेको उनले जानकारी दिए ।
‘योजना प्राप्तिमा पनि जो अलि सवल पक्ष छ, उसैको धेरै योजना र त्यसमा धेरै बजेट पर्ने गरेको छ भने जो अलि सीमान्तकृ छ, उसको बजेट र योजना पनि कम पर्ने गरेको छ’ उनले भने । अधिकृत बुढाका अनुसार पिछडिएको वर्गका लागि एउटा मात्रै योजना परेको छ भने मुश्लिम समुदाय, ज्येष्ठ नागरिकका तर्फमा पनि कम योजना परेको छ । महिला, बालबालिका, दलित, जनजाति आदिवासीतर्फ भने योजना पनि धेरै र बजेट पनि धेरै परेको छ । बजेटमा १० प्रतिशत बालबालिकाका लागि, १० प्रतिशत विपन्न महिलाका लागि, १५ प्रतिशत बजेट अन्य लक्षित अन्तर्गत, दलित, आदिवासी जनजातिमा विभाजन हुने गरेको छ ।
यता जिल्लामा सो आर्थिक वर्षमा साना ठूला गरी ६ सय ३२ वटा आयोजनाहरु संचालनमा छन् । १ लाखभन्दा कमका २९७ आयोजना, १ लाखदेखि ५ लाखसम्मका ८४ वटा आयोजना, ५ लाखदेखि १० लाखसम्मका ६४ वटा आयोजना र १० लाख भन्दा माथिका २९ वटा आयोजना जिल्लामा संचालित रहेका छन् । यस्तै नगरपालिका, गाविस तथा विषयगत कार्यालयहरुलाई अख्तियारी वा निकासा दिएका आयोजनाहरुको संख्या १५७ वटा रहेको छ ।
प्रकाशित मिति: २३ भाद्र २०७३, बिहीबार १५:२८