बनेपा, २८ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको गुनासो सम्बोधन गर्न आज पहिलोपटक काभ्रेपलाञ्चोकबाट सार्वजनिक सुनुवाइ सुरु गरेको छ ।
हामीले जनताको पीडा सुन्नका लागि यस्तो कार्यक्रम अघि ल्याएका हौँ र यसलाई सबै जिल्लामा विस्तार गरिनेछ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले भने ।
उनले भूकम्पपीडितले गरेको कतिपय गुनासो स्थानीय निकायबाट समेत सम्बोधन हुने उल्लेख गर्दै पीडितलाई राहत दिने क्रममा गाविस सचिवले त्रुटि गरे त्यसको भागिदार गाविस सचिव नै हुने बताए ।
धेरैजसो गुनासो जग्गाको लालपुर्जासँग सम्बन्धित छ यसलाई पनि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जग्गा सिफारिस समितिको सिफारिसमा समाधान गर्न सकिन्छ कार्यकारी प्रमुख ज्ञवालीले भने ।
पुनःनिर्माण प्राधिकरण कार्यालयका सचिव मधुसुदन अधिकारीले कतिपय सर्वेक्षणमा त्रुटिको विषय आएको जानकारी दिँदै जग्गासम्बन्धी विवादको समाधान जग्गा समितिको सिफारिसमा हुने प्रावधान भएको रहेको बताए ।
पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले गुनासो प्रणालीले वास्तविक पीडितको समस्या समाधान हुने उल्लेख गर्दै सबै गुनासो अध्ययन गरेर निष्कर्षमा पुग्ने बताए ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जिल्लाको फँलाटे र भुम्लुटार गाविसको जग्गासम्बन्धी समस्या ठूलो नभएको औँल्याउँदै भूकम्पपीडितको सङ्ख्या पहिचान गरेकोभन्दा बढी आएकोमा आश्चर्य व्यक्त गरे ।
स्थानीय विकास अधिकारी टेकराज निरौलाले गैरसरकारी संस्थाले पुनःनिर्माण प्राधिकरणसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताए । उनले जिल्लामा ६७ हजार ७११ जना लाभग्राहीमध्ये ५५ हजारसँग अनुदान सम्झौता भएको र ४५ हजार ८८२ लाभग्राहीलाई रकम निकासा भइसकेको जानकारी दिए ।
जिल्लाको पोखरीचौरीका कृष्णराज गौतमले भूकम्पपीडितको परिभाषा स्पष्ट नभएको उल्लेख गर्दै जग्गाको लालपुर्जा नभएकालाई राज्यले सुविधा नदिने विषय विभेदपूर्ण भएको बताए ।
नेकपा माओवादी केन्द्र का ईन्द्रबहादुर थिङले रकम निकासा भए पनि वास्तविक पीडितले पहिलो किस्ताबापतको रु ५० हजार नपाएको बताए ।
सो कार्यक्रममा नेपाली काँग्रेसका अच्युत पौडेल नेकपा एमालेका शेखर लामालगायतले बोल्दै अनुदान सम्झौतालाई प्रभावकारी बनाउन जोड दिएका थिए । रासस