कञ्चनपुर, १८ कात्तिक । बेलौरीमा रहेको सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको बीउ बैंकबाट ३११ किसान लाभान्वित भएका छन् ।
बीउ बैंकले किसानलाई उन्नत जातका धान, गहुँ र तोरीको बीउ सुपथ मूल्यमा उपलब्ध गराएको हो । विसं २०६५ मा बाढीका कारण डुबानमा परेर बेलौरी क्षेत्रका बासिन्दाले नोक्सानी बेहोर्नु परेको बीउ बैंकका संयोजक मनराज उपाध्याय बताउनुहुन्छ । भैरहवास्थित अनुसन्धान केन्द्रबाट धान, गहुँ र तोरीको बीउ ल्याई किसानलाई उपलब्ध गराएको हो ।
उन्नत जातका बीउको प्रयोग गरी खेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । चालु आवमा मात्रै बीउ बैंकमा आबद्ध किसानले ९५ क्विन्टल विजय नामको गहुँको बीउ र एनएल २९७ जातको ३०० क्विन्टल धानको बीउ उत्पादन गरेका छन् ।
बर्सेनि हुने डुबानले धानको उत्पादनमा ह्रास आउने गरेको रिछाहाका किसान मानबहादुर चौधरीले बताउनुभयो । बीउ बैंकबाट उपलब्ध गराइएको बीउले उत्पादनमा दोब्बर वृद्धि भएको छ । खेतमा पानी जम्मा हुने र सुक्खा हुने अवस्थामा समेत धानले यथेष्ट उत्पादन दिने भएकाले किसान उन्नत बीउ प्रति आकर्षित भएका हुन् ।
धान र गहुँ बालीको बीउसँगै बैंकले किसानलाई बाली कटानी गर्ने आधुनिक उपकरण उपलब्ध गराउने, रोगकिराको व्यवस्थापनसँगै बाली लगाउने प्राविधि, मलखाद र सिँचाइको समुचित प्रयोगबारे जानकारी दिन कृषि प्राविधिक (जेटिए)को समेत व्यवस्था मिलाउँदै आएको छ । किसानले उत्पादन गरेको बीउ बैंकले खरिद गरी कृषि विज्ञको सहयोगमा बीउको प्रमाणीकरण, उपचार, ग्रेडिङ र प्याकेजिङ गरी सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
उन्नत जातका बीउ उपलब्ध गराउने क्रमसँगै बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका जिरा गहुँ, सिमटारी, राइमनुवा, दुलहनीयाँलगायतका बीउ जोगाउने कार्यलाई समेत निरन्तरता दिएको छ ।
रासस