काठमाडौँ, २ साउन । भूकम्पले क्षतिग्रस्त रानीपोखरीका बीचस्थित बागोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु हुने भएको छ ।
पुनःनिर्माणको काम अन्तर्गत अहिले पर्खाल लगाउने काम र मन्दिर पुनःनिर्माणको तयारी भइरहेको निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताए । सो मन्दिर भाइटीकाका दिन मात्र खुल्छ, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।
पोखरीको आसपासमा रहेको बगैँचा पुनःनिर्माण गर्ने काम पनि भइरहेको कँडेलले जानकारी दिए । पोखरीमा रहेको केही पानी निकालिसकिएको भए पनि वर्षाद्को समय भएको हुँदा बाँकी पानी फाल्ने काम गर्न समस्या भएको छ । पानी फाल्ने काम सकेपछि महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुने छ । त्यहाँ रहेका सबै माछा भने बालाजु बाइसधारामा लगिसकिएको छ ।
ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी बनाइएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरू सहितको सेतो मूर्ति छ ।
पोखरीकै चारै कुनामा सोह्रहाते गणेश सहितका मन्दिर छन् । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ । झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने एकिन नभएको कामपाले जनाएको छ ।
रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विधुत् जडान गरी झिलिमिली बनाइने तथा पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने र हरियाली बनाइने बताइएको छ । रासस