काठमाडौं, २२ भदौ । ७५ वर्षीय यादवलाई केही समय अघि त्रिवि शिक्षण अस्पतालमा परीक्षण गर्दा प्रोष्टेट ग्रन्थीको क्यान्सरको शंका गरिएको थियो । यसपछि भारतको चन्डीगढ स्थित स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थानमा वायोप्सी गराउँदा क्यान्सर किटान गरिएको हो ।
हाल प्रोष्टेट गन्थ्रीको भित्र नै क्यान्सर छ, बाहिर फैलिएको छैन । यादवको प्रोष्टेट ग्रन्थीमा देखिएको क्यान्सरयुक्त गाँठो विस्तारै फैलिने खालको छ । यसको शल्यक्रिया लगायतका विभिन्न प्रकृयाबाट उपचारपछि उनी पूर्ण निको हुने र सामान्य अवस्थामा फर्किने बताइएको छ ।
उनको यो मेजर अप्रेशन भएको बताइएको छ । प्रथम राष्ट्रपतिका साथमा छोरा चन्द्रमोहन, छोरी अनिता र एक जना सुरक्षाकर्मी अमेरिका जाने छन् ।
अस्पतालले शल्यक्रिया बुक गर्न ३७ हजार अमेरिकी डलरको शुल्क पहिले नै पठाउनु पर्ने जनाएको छ । यस्तै सम्पूर्ण उपचार प्रकृयामा करिव ६२ हजार डलर खर्च हुने आँकलन गरिएको छ ।
प्रोष्टेट पिसावको नलीको माथिल्लो भागको चारै तर्फ हुने एउटा ग्रन्थी हो । यो ग्रन्थी ओखर आकारको हुन्छ । यसको काम वीर्यमा रहेको एउटा तरल पदार्थ निर्माण गर्नु हो । प्रोष्टेट क्यान्सर सामान्यतया ५० नाघेका पुरुषहरुमा हुने सम्भावना हुन्छ । प्रोष्टेट क्यान्सरको जानकारी सुरुको अवस्थामा पाए उपचार सजिलै हुन्छ ।
उपचारपछि प्रथम राष्ट्रपति यादव झण्डै डेढ महिनको अमेरिका बसाई पछि नेपाल फर्कनेछन् । प्रोष्टेट क्यान्सर प्रभावितलाई पिसाब रोक्न नसक्ने, पिसाव फेर्दा रोकी रोकी हुने, पिसाब फेर्दा पोल्ने र दुख्ने जस्ता लक्षण देखिन्छ । पिसावमा रगत वा वीर्य आउनु पनि यसको लक्षण हो । कमरको तलको भागमा धेरै दुख्ने जस्ता लक्षण देखिन सक्छ
प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार १९:२५