जाजरकोट, १९ भदौ । जाजरकोटको एउटा पेट्रोल डिलरमा आगलागी हुँदा एक जनाको मृत्यु हुनकासाथै चार जना गंभिर घाइते भएका छन् ।
जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा रहेको पेट्रोल डिलरमा आज बिहान ११ बजे आगलागी हँदा नायकबाडा– २ की १८ वर्षे संगीता खत्री बोहराको ज्यान गएको हो ।
डिलरमा लागेको आगो सल्किएर नजिकैको होटलमा आगो लागेपछि उनको ज्यान गएको हो । आगोमा परेर उनका बुबा कार्कीगाउँका–७ का मानसिंह खत्री गंभिर घाइते भएका छन् । मानसिंहले भेरीमालिका नगरपालिका–४ मा पेट्रोल डिलरसँगै जोडिएको अर्को कोठा भाडा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।
आगलागीबाट घाइतेमा डिलर सञ्चालन गर्ने रुकुम चौरजहारी नगरपालिका ७ का २३ वर्षे प्रेमबहादुर राना, सोही ठाउँका १८ वर्षे गोकर्ण चन्द र जाजरकोटमा कार्यरत प्रहरी जवान रमेश शाह रहेको प्रहरीले जनाएको छ ।
घाइते हुने प्रहरी जवानको घर सल्यान डाडागाउँ हो । ‘पेट्रोलको गन्ध आएपछि के भएछ भन्दै घरभित्र छिरेको थिएँ’ प्रहरी जवान शाहले भने, ‘म छिर्ने वित्तिकै आगो सल्किहाल्यो घरको तेस्रो तलाबाट हाम हालेर ज्यान जोगाएँ ।’ उनी लगायत घाइते चारै जना कोलियाबाट तेस्रो तलामा गएर हाम फालेका थिए । संगीता भाग्न नसक्दा आगोले डढेर ज्यान गएको प्रहरीले जनाएको छ । संगीताको डेढ महिनाको छोरी छन् ।
घाइते चारै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा प्राथमिक उपचार गरिसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
ड्रमबाट जर्किनमा तेल खन्याउँदै गर्दा भरिएर तेल अगेनामा पुगेपछि आगो लागेको प्रहरीले जनाएको छ । १२ वटा तेलका ड्रममा ४ वटा जलेका छन् । घर भाडा लिएर प्रेमबहादुर राना एउटा कोठामा पेट्रोल डिलर सञ्चालन गरेका थिए । अर्को कोठामा मानसिंहले होटल खोलेका थिए ।
११ बजे लागेको आगो स्थानीय, प्रहरी, सेना, रेडक्रसको सहयोगमा ४५ मिनेटपछि निभाइएको थियो । आगोले दुई वटा मोटरसाइकल र घर जेलको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार ३५ लाखको क्षति भएको छ ।
प्रकाशित मिति: १९ भाद्र २०७३, आईतवार १५:३७