काठमाडौँ, ३१ असार । गत आर्थिक वर्षको न्यूनतम सर्त तथा कार्यसम्पादन मापनको नतिजामा ८७ अङ्क प्राप्त गरी धनकुटा जिविस पहिलो भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०७१/०७२ को कार्य सम्पादनका आधारमा यस्तो निर्णय गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।
यसैगरी ८५ अङ्क प्राप्त गरी बाँके र दैलेख जिविस दोस्रो, ७५ अङ्क प्राप्त गरी पाँचथर, कास्की र प्यूठान जिविस तेस्रो भएको सुपरीर्वेक्षण तथा व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका सचिव महेन्द्रमान गुरुङले बताए ।
नगरपालिकातर्फ ९० अङ्क प्राप्त गरी बुटवल उपमहानगरपालिका पहिलो, ८९ अङ्क प्राप्त गरी हेटौँडा उपमहानगरपालिका र धनकुटा नगरपालिका दोस्रो, ८८ अङ्क प्राप्त गरी घोराही नगरपालिका तेस्रो भएका छन् ।
“सम्बन्धित जिविसमार्फत कुल तीन हजार १५७ गाविसमध्ये ५५ जिल्लाका दुई हजार ३४९ गाविसको न्यूनतम सर्त तथा कार्यसम्पादन मूल्याङ्कन भएकामा एक हजार ८८२ गाविसले न्यूनतम सर्तका सूचक पूरा गरेका छन्, बाँकी १८ जिल्लाका ८०८ गाविसले मूल्याङ्कन गराएका छैनन्”– सचिव गुरुङले भने ।
मूल्याङ्कनअनुसार ६८ जिविस, ४८ नगरपालिका र एक हजार ८८२ गाविस न्यूनतम सर्तका सूचक पूरा गर्न सफल भएका छन् । सात जिविस, १० नगरपालिका र ४६७ गाविसले न्यूनतम सर्तका सूचक पूरा गर्न नसकेको मन्त्रालयले जनाएको छ ।
नतिजाअनुसार पहिलो, दोस्रो र तेस्रो भएका छ जिविसले थप पुँजीगत अनुदानको १२० प्रतिशत पाउने भएका छन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो भएका चार नगरपालिकाले पनि थप पुँजीगत अनुदानको १२० प्रतिशत पाउनेछन् । रासस