भीमदत्तनगर, २४ भदौ । कुनै समय गाउँमा जमिनदारको खेतमा परिश्रम गरेर परिवारको लालनपालनमा दिन बिताउने कञ्चनपुरको देखतभूली गाविस–६ का शिवचरण राना यतिबेला दूध बेचेरै रु दुई लाख आम्दानी गर्न थालेका छन् ।
घरको आर्थिक अवस्था कमजोर हुँदा वैदेशिक रोजगारीमा जान खोजेका उनले पछिल्लो समय गाउँका किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्न थालेका छन् । “परिश्रमी हातलाई पैसा कमाउन विदेश नै जानु पर्दैन, काम गरे गाउँमै पनि प्रशस्त कमाई गर्न सकिन्छ,” उनले भने।
दूध बिक्रीबाटै उनले वार्षिक रु दुई लाख आम्दानी गर्दैआएका छन् । रानाले दैनिक एकसय ८० लिटर दूध बिक्री गर्दै आएका छन् । भारतमा लामो समय रोजगारीका नाउँमा मजदुरी गरेर समय खर्चिएकोमा उनलाई पश्चताप छ ।
यस्तै भीमदत्त नगरपालिका–१४ वनकट्टीका ५४ वर्षीय रामबहादुर बोहरा दैनिक गाउँमा किसानबाट दूध सङ्कलन गरेर बिक्री गर्न आठ किलोमिटर टाढाको महेन्द्रनगर बजार आइपुग्छन् । करिब १०० लिटरसम्म दूध सङ्कलन गर्ने गरेका बोहराले विगत दुई दशकदेखि दूधको व्यापार गर्दै आएका छन् । उनले दूध बिक्रीबाटै गाउँमा रु १५ लाख बराबरको घडेरी, रु ६ लाखमा घर निर्माण गरेका छन् ।
विसं २०५३ देखि बोहराले भीमदत्त नगरपालिकाको वनकट्टी, वसन्तपरु, ऐरी, बासखेडा र गोबरियाका किसानको घरबाट दूध सङ्कलन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्दैआएका छन् । “दूधकै कारोबारले सिङ्गो परिवार धानेको छु,” उनले भने ।
सुरुमा प्रतिलिटर रु १० बाट दूधको व्यापार सुरु गरेको बोहरा दूध उत्पादन र खपतमा कुनै कमी नआएको बताउँछन् । उनले रु २१ लाख बराबरको जग्गा र घर निर्माण गरेका छन् । अहिले उनले प्रतिलिटर रु ५० मा दूध बिक्री गरिरहेका छन् ।
दूध व्यापारबाट मासिक रु १२ हजार देखि रु १८ हजारसम्म बचत हुने गरेको उनको भनाइ छ । दैनिक बिहान ५ देखि १२ बजेसम्म दूधको कारोबार गर्ने गरेका बोहरा आधी समय भने किसानीमा बिताउँछन् । पछिल्लो समय भीमदत्तनगरको ‘हेल्प नेपाल’ संस्थामा आवद्ध बोहरा गाउँघरमा सरसफाइ अभियानदेखि अन्य विकास निर्माणका सामाजिक कार्यमा समेत संलग्न छन् । रासस