काठमाडौं कात्तिक १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धी र विकासका लागि नेपालसहित भारत र चीनबीच त्रिदेशीय साझेदारी तीनवटै देशको हितका लागि आवश्यक रहेको बताएका छन् ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर इण्डिया फाउण्डेशनको आयोजना र नीति अनुसन्धान फाउण्डेशन र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडीजको सहआयोजनामा दुई देशका प्रबुद्ध व्यक्तित्वहरु सहभागी फष्ट बाइलाटरल डाइलग नेपाल एण्ड भारतः एक्सप्लोरिङ्ग न्यू भिष्टास विषय सेमिनार उद्घाटन गर्दै त्रिदेशीय साझेदारीबाट तीनवटै देशले लाभ हासिल गर्नसक्ने बताएका हुन ।
उनले भने,“त्रिदेशीय साझेदारीबाट हामी सबैको हित छ ।” नेपाल भारत र चीनजस्ता उदयीमान शक्तिको बीचमा रहनु अवसर हो भन्दै त्यसबाट लाभ लिन सकिने औल्याएका थिए । “आर्थिक समृद्धीतर्फ दु्रत गतिमा बढिरहेका भारत र चीनबाट नेपालले लाभ लिनसक्छ ।” दुई देशको विकास नेपालका लागि उचित पाठ भएको उनको भनाई थियो । भारतसँग नेपालको देश देशबीचको मात्र नभई जन जनबीचको सम्बन्ध रहेको भन्दै सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन गम्भीरताका साथ लागेको बताउनुभयो । भारतबाट नेपालले उच्च प्रविधि, दक्ष जनशक्तिको प्रसारको आशा व्यक्त गर्नुभयो । नेपाल अवसरको उर्वर भूमी हो भन्दै त्यसको सदुपयोगका लागि भारतको सहयोग अनिवार्य भएको उल्लेख गरे ।
नेपाल र भारतको इतिहास गौरवशाली घटनाले भरिएको विवेचना गर्दै विगतका सुन्दर क्षणलाई फर्काउन दुवै देशको दायित्वमा जोड दिनुभयो । शान्तिका अग्रदूत बुद्धका अलावा महान् चिन्तकहरूको जन्मभूमीमा गरिबी र गम्भीर समस्याहरुसँग जुध्नुपर्ने अवस्था आएको भन्दै दुवै देश मिलेर परिवर्तन र समृद्धीको मार्ग निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्रीले नेपालमो समृद्धी र विकासमा भारतको सहयोगको आशा व्यक्त गरे ।
भारतले नेपालको शान्ति र विकासमा विगतमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा सहयोग अझ प्रभावकारी हुने दाहालको विश्वास थियो । भारतसँग बढ्दो व्यापार घाटा कम गर्न भारतीय पक्षबाट पहकदमी हुने उनको आशा थियो ।
दुई देशका प्रबुद्ध समुदायले द्विपक्षीय हितको लागि वृहत छलफल गरी निष्कर्ष निकाल्ने दाहालको विश्वास थियो ।
सरकारस्तरमा मात्र नभई जनस्तरसम्म सम्बन्ध र द्विपक्षीय हितको विषय प्राथमिकतामा पर्नुपर्नेमा उल्ले गरे ।
भारतीय जनता पार्टीका महासचिव तथा इण्डिया फाउण्डेशनका निर्देशक राम माधवले नेपालमा सबैलाई चित्त बुझ्नेगरी संविधान कार्यान्वयन होस् भन्ने भारतको चाहना रहेको बताएका छन् ।
भारत नेपालको समृद्धी, शान्ति र दीगो विकासको पक्षमा रहेको उल्लेख गर्दै सहमतिबाट त्यस्तो लक्ष्य हासिल हुने बताएका थिए । नेपाल र भारत मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिदै भने,“हामी मिलेर अगाडि बढौं ।”
प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार ०८:२९