काठमाडौं ३ साउन । पछिल्लो समयमा नेपालमा ठूला होटलको निर्माण हुने क्रम बढिरहेको देखिएको छ । राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण निर्माण हुँदै गएकाले पनि यस्ता होटलको निर्माणमा व्यवसायीहरू उत्साहित देखिएका छन् । अहिले देशका विभिन्न ठाउँमा गरी ३० अर्ब रुपैयाँभन्दा बढीको लगानीमा करीब एक दर्जन ठूला होटल निर्माणाधीन अवस्थामा रहेको होटल एशोसिएशन नेपाल (हान)ले बताएको छ ।
यी होटलहरू सन् २०२० सम्ममा निर्माण भई अन्तरराष्ट्रिय स्तरका तारे होटलमा मात्र ४ हजार बेड थपिने छन् । यससँगै बेड सङ्ख्या ४६ हजार पुग्नेछ । अहिले नेपालमा होटलको बेड क्षमता १६ लाख रहेको हानको तथ्याङ्क छ । सन् २०२० सम्ममा नेपालमा वार्षिक २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । त्यसका लागि पनि पूर्वाधारको विकास अत्यावश्यक भएको हो ।
नेपालका ठूला व्यापारिक घराना र अन्तरराष्ट्रिय चेन कम्पनीहरूको संलग्नतामा खुल्न लागेका होटलहरू अधिकांश तीनतारेदेखि पाँचतारेसम्मका छन् । हानका अध्यक्ष अमरमान शाक्यका अनुसार पछिल्लो समय स्टार मात्र नभई सामान्य होटलमा समेत लगानी बढिरहेको छ । अहिले भएका ठूला होटेलहरूमध्ये पाँचतारे १०, चारतारे दुई, तीनतारे १२, दुईतारे २२ र एकतारे १८ ओटा रहेका छन् ।
भूकम्प, भारतीय नाकाबन्दी र नोटबन्दीपछि नेपाली पर्यटन क्षेत्रमा उत्साह थपिए पनि पूर्वाधारको कमी भने समस्याको रूपमा रहेको अध्यक्ष शाक्यको धारणा छ । उनले भने, ‘नेपालमा होटल क्षेत्रमा खर्बौं लगानी भइसक्यो । ठूला होटल मात्र नभई साना होटलको सङ्ख्या पनि दिन प्रतिदिन बढिरहेको छ । तर, पूर्वाधारको अभावले पर्यटकको आवागमन बढाउन सकिएको छैन । यसप्रति सरकार गम्भीर हुन जरुरी छ ।’
हानले सङ्घीयताको अवधारणाअनुसार होटलको विकास र विस्तारको अवधारणा सार्वजनिक गरेको बताउँदै उनले अब सङ्घीयताअनुरूप विकास पूर्वाधार आवश्यक भएको बताए । पूर्वाधारमा लगानी बढाउन सरकारसँग आग्रह गर्दै शाक्यले भने, ‘लगानी व्यवसायीका मात्र भएको हुँदैन । बैङ्क, वित्तीय संस्थाको लगानी परेको हुन्छ । यदि एउटा होटल डुब्यो भने बैङ्क डुब्छ, बैङ्क डुब्नु भनेको सर्वसाधारणको रकम डुब्नु हो ।’
हानका महासचिव तथा प्रवक्ता विनायक शाहले नेपालमा होटल व्यवसायमा लगानी बढे पनि यसको सुरक्षा प्रमुख चुनौती भएको बताए । उनका अनुसार लगानीअनुरूप पर्यटक भिœयाउन ‘मेगा इभेण्ट’ आवश्यक छ ।
नेपालसँग बेच्ने चीज धेरै भए पनि तिनकोे ब्राण्डिङ गर्न आवश्यक भएको उनको भनाइ छ । उनले राष्ट्रिय ध्वजावाहकको सङ्ख्या नबढेसम्म सस्तो भाडादरमा विदेशी पर्यटक नेपाल आउन नपाउने भएकाले सरकारले त्यसका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
होटल तथा रेष्टूराँ व्यवसायबाट लाखौंले रोजगार पाएको, कृषि उपजको धेरै प्रयोग यही क्षेत्रले गरेको र देशको कुल गार्हस्थ्य उत्पादनमा होटलले २ प्रतिशतको योगदान गरे पनि राज्य पूर्वाधार विकासमा उदासीन रहेको होटल व्यवसायीहरूको गुनासो छ । सरकारको काम यस्तै रहेमा ‘भिजिट नेपाल २०१८’ सफल नहुने उनीहरू बताउँछन् ।
प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार ०६:४६