जुम्ला, २८ भदौ । स्थानीय निकाय पुनःसंरचनाको व्यापक अभ्यासपछि जुम्लाका लागि एक नगरपालिका र सात गाउँपालिकाको सिफारिस गरिएको छ ।
यहाँका राजनीतिक दल तथा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिबीच भएको छलफलले एक नगरपालिका र सात गाउँपालिकाको संरचना कायम गर्ने सहमति गरेको हो ।
जिल्लामा २७ गते बसेको बैठकमा भएको दलीय सहमतिअनुसार कायम गरिएको संरचना स्थानीय तह पुनःसंरचनाको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा सिफारिस गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक राजेश पौडेलले जानकारी दिए ।
कार्यसर्त तथा कार्यविधिमा रहेर स्थानीय तहको पुनःसंरचना गरिएअनुसार कायम भएको चन्दननाथ नगरपालिकाको जनसङ्ख्या १९ हजार ४७ रहेको छ । बाँकी सात गाउँपालिकामध्ये पातारासी गाउँपालिकाको जनसङ्ख्या १४ हजार ७५१, गोठीचौर गाउँपालिकाको जनसङ्ख्या नौ हजार ८७०, माथिल्लो सिंजा गाउँपालिकाको जनसङ्ख्या १३ हजार २१६, मध्यसिंजा गाउँपालिकाको जनसङ्ख्या ११ हजार ९९३ र तल्लो सिंजा गाउँपालिकाको जनसङ्ख्या १० हजार ५५३ रहेको समितिका संयोजकले पौडेलले जनाए ।
त्यसैगरी, तिला गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६०७ र तातोपानी गाउँपालिका जनसङ्ख्या १४ हजार ६३८ रहेको छ । हाल जुम्लाको कुल जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको छ ।
नामाङ्कन तथा सीमाङ्कन गरिएका सबै गाउँपालिकाको प्रशासनिक केन्द्र पनि तोकिएको छ । यसमा माथिल्लो सिंजा गाउँपालिकाको प्रशासनिक केन्द्र विराट, मध्य सिंजाको नराकोट, तल्लो सिंजाको कालिकाखेतु, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको तातोपानी, पातारासी गाउँपलिकाको डिल्लीचौर र गोठीचौरको गज्र्याङकोट रहने सहमतिसहित सिफारिस गरिएको प्राविधिक समितिले जनाएको छ । तथापि ताम्ती गाविसवासीले आफूलाई भूगोलले अन्याय गरेको देख्दा पनि प्राविधिक सहयोग समितिले त्यसलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनीहरुले तिलागाउँ गाउँपालिकासँग ताम्ती गाभ्न प्राविधिक सहयोग समितिलाई दबाब दिँदै आएका छन् । यता कुडारीले तिलासँग त्रिवेणी जोडेर तिला त्रिवेणी गाउँपालिका राख्ने निर्णय गाविसबाटै गरिसकेको बताएको छ । यद्यपि जिल्लाबाट प्राविधिक समितिले सिफारिस गरेको स्थानीय तह पुनःसंरचनाको खाका केन्द्रीय सीमा निर्धारण आयोगले स्वीकृत गरेमा जुम्लाको स्थानीय संरचना एक नगरपालिका र सात गाउँपालिका हुने पक्का भएको छ । रासस