अस्ट्रेलिया, ३ असोज । ग्रानभिलले जित्यो नवाज कप नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी(नवाज)द्धारा आयोजित सिड्नी नवाज कप फुटबल प्रतियोगिताको उपाधि ग्रानभिल राइनो्जले जितेको छ ।
झरी बिच सम्पन्न फाइनल खेलमा ग्रानभिलले खेलमा फर्कर्दै टाइब्रेकरमा जित हात पारेको थियो । खेलको प्रारम्भदेखिनै दबाब सृजना गरेको राइजिङ गार्खाजले मध्यान्तर अगाडि ग्रनाभिललाई २ गोल गरेको थियो । राइजिङका सुनिल भण्डारी र अमरिस खरेलले गोल गरेका थिए ।
फाइनलमा मध्यान्तर अगाडि दुइ गोलको अग्रता लिएको राइजिङले मध्यान्तर लगत्तै रक्षापंक्ति चुकेपछि पहिलो गोल खाएको थियो । खेलको अन्त्यतिर जितको नजिक पुगेको राइजिङविरुद्ध ग्रानभिलले गोल गर्दै खेललाई बराबरीमा पुर्याएपछि फाइनल साच्चिकै रोचक बनेको थियो ।
मात्र एक मिनेट बाँकी हुँदा बराबरी गोल गरेपछि जोसिएको ग्रानभिलले अन्तमा टाइब्रेकरमा गोल रक्षक सामुयल श्रेष्ठको चमत्कारीक प्रर्दशनसँगै उपाधि आफ्नो पक्षमा पारेको थियो । नियमित समयमा ग्रानभिलका लागि असिम पोखरेल र शिशिर थापाले एक एक गोल गरेका थिए ।
३५ वर्ष माथिको भेट्रान फाइनलमा माछापुच्छ्रेले सेन्ट जोर्जलाई हराउदै पहिलो स्थान हात पारेको थियो । प्रतियोगितामा सेन्ट जोर्जलाइ हराउदै माछापुच्छ्रेले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगिताको म्यान अफ दी सीरीजमा ग्रानभलिका सुपर गुरुङ, म्यान अफ दी फाइनलमा ग्रानभिलमा सामुयल श्रेष्ठ, बेष्ट गोलरक्षकमा तम या हाङ, वेस्ट डिफेन्डरमा सुदिप क्षेत्री, वेस्ट मिडफील्डरमा सुनिल भण्डारी र राजेश श्रेष्ठले गोल्डेन बुटको उपाधि हात पारेका थिए ।
प्रतियोगितामा प्रथम हुने टीमलाइ सिल्ड र प्रमाणपत्र सहित १२०० डलर, दोस्रोलाई टीमलाई ६०० र तेस्रो स्थान हात पार्ने टीमलाई ३ सय ५० डलर प्रदान गरिएको नवाजका खेल संयोजक प्रकाश पन्थीले बताए ।
करिब ४ महिना अगाडिदेखि संचालित नवाज कप फुटबलमा १९ टिमको सहभागिता रहेको नवाजका अध्यक्ष बिनोद शर्माले जानकारी दिए । सन् १९९९ मा स्थापीत नवाजले प्रत्येक वर्ष नेपालीबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबल प्रतियोगिताको आयोजना गर्दै आएको शर्माले बताए खेलको समापनपछि फुटबलमा आधारित पत्रकार भोजराज भाटद्धारा निर्दे्शित डकुमेन्ट्री “सुनाकली” समेत प्रर्दशन गरिएको थियो ।
प्रतियोगिताको म्याच डाइरेक्टरमा पुराना नेपाली फुटबलर राजु मानन्धर रहेका थिए । प्रतियोगिताका विजेतालाई एनआरएनएका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल, नवाजका सल्लाहकार बद्री अर्याल, नवाजका अध्यक्ष बिनोद शर्मा लगायतले ट्रफी तथा नगद प्रदान गरेका थिए ।
प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार १८:३१