सिन्धुली, १ साउन । सिन्धुलीमा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ । सजिलै र सहज तरिकाले खेत जोताइ हुने भएपछि केही वर्षयतादेखि सिन्धुली जिल्लामा खेत जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएको हो ।
पछिल्लो समयमा खेत जोत्ने, सडक निमार्णमा ढुङ्गा, गिट्टी, बालुबाको ढुवानीलगायतको काममा ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ । गोरु वा राँगाले खेत जोत्दा हप्ता दिनसम्म लाग्ने खेत ट्र्याक्टरले छोटो समयमा जोत्ने भएकाले पनि यहाँ किसानको रोजाइ ट्र्याक्टरबाट खेत जोत्नेनै रहेको छ भने यसप्रति किसानको आर्कषण बढेको छ ।
जिल्लाको सदरमुकाम सिन्धुलीमाढी, ढुङ्ग्रेबास, धुराबजार, मिलनचोक क्षेत्रमा व्यवसायकै लागि किसानले ट्र्याक्टर खरिद गरेका छन् । खेतीको समयमा खेत जोत्न ट्र्याक्टरवालालाई भ्याइनभ्याइ हुन्छ, भने अन्य समयमा निर्माण सामाग्रीको ढुवानीमै व्यस्त देखिन्छन् ।
सिन्धुलीका ग्रामीण तथा महाभारतमा पनि खेतबारीमा ट्र्याक्टरको माध्यमबाट अहिले जोताइ भएको छ । सिन्धुलीमाढी बजार र सुगम क्षेत्रबाहेक यस वर्षबाट ग्रामीण तथा दुर्गम क्षेत्रमा ट्र्याक्टरको प्रयोग बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले पनि अनुदानमा हाते ट्र्याक्टर किसानलाई वितरण गरेपछि यस वर्षदेखि ग्रामीण, दुर्गम र महाभारत क्षेत्रमा समेत हाते ट्र्याक्टरले खेत जोताइ गरी धान रोपाइँ भइरहेको छ । हाते ट्र्याक्टरले पनि हिउँद वर्षा जुनसुकै समयमा सहजै तरिकाले खेतजोत्न सकिने कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
कृषि कर्ममा किसानलाई सजिलो र सहज बनाउन हरेक वर्ष हाते ट्र्याक्टर वितरण गर्दै आएको कार्यालयले जनाएको छ । आव २०७०÷०७१ देखि किसानलाई अनुदानमा ट्र्याक्टर वितरण कार्य सुरु गरेको कार्यालयले अहिलेसम्म एकसय ४४ वटा हाते ट्र्याक्टर वितरण गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका कृषिप्रसार अधिकृत विजय मण्डलले बताए ।
उनका अनुसार कार्यालयले आब २०७०/७१ मा १२ वटा, आव २०७१/०७२ मा ५४ वटा र आव २०७२/०७३ मा ७८ वटा ट्र्याक्टर वितरण गरेको छ । किसानको माग र आवश्यकतालाई मध्यनजर गर्दै हरेक वर्ष कार्यालयले अनुदानमा ट्र्याक्टर वितरण गर्दै आएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली र मरिण क्षेत्रमा किसान आफुले ट्र्याक्टर खरिद गरी खेत जोत्ने गरेका छन । कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेका ट्र्याक्टरले अहिले कमलाखोचसँगै दुर्गम पहाडी क्षेत्र हरिहरपुरगढी, वितिजोर, वाशेश्वर, सोल्पाढाना, डुडभञ्ज्याङ, भिमेश्वर, रतनचुरा, सितलपाटी, झागाझोली रातमाटा, पुरानो झागाझोली, दुम्जालगायतका गाविसमा हाते ट्र्याक्टरको माध्यमबाट खेत जोताइ भइरहेको छ । रासस