सुर्खेत । पूर्वाधार विकासका लागि कर्णाली प्रदेशले चालु आर्थिक वर्षमा ५ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गर्यो । तर चालु आर्थिक वर्षका चार महिना वित्दा समेत पूँजीगत खर्च ५२ लाख ३३ हजार रुपैयाँ मात्र भयो ।
चार महिनाको अवधिमा विकास निर्माणको काममा देखिएको ढिलासुस्तीलाई हेर्दा अबका आठ महिनामा विकासका लागि छुट्याइएको बजेट खर्च हुने र जनताले अनुभूति गर्ने विकासका काम हुन्छन् भन्ने कुरामा ढुक्क हुने अवस्था छैन । कछुवाको गतिमा अघि बढेको विकासका कामले कर्णाली प्रदेशलाई आम रुपमा भन्ने गरिएको गरीब प्रदेशलाई समृद्धि तर्फ बढाउने कुरामा शंका छ ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका मन्त्री खड्कबहादुर खत्री कर्मचारी अभावका कारण पूर्वाधार विकासका कुनै पनि काम गर्न नसकिएको बताउँछन् । उनी भन्छन्, ‘सचिव, समेत मेरो मन्त्रालयमा छैनन् । माग गरिएका ८ जना कर्मचारी पनि आएका छैनन्’ ।
मन्त्री खत्रीले पूर्वाधार विकासका लागि पौने ६ अर्व बजेट छुट्याएपनि काम गरिदिने कर्मचारी नहुँदा कुनैपनि काम हुन नसकेको बताए । उनले भने ‘रिक्त भएको दरबन्दीमा कर्मचारी माग गरिरहेका छौ, तरपनि कर्मचारी आइपुगेका छैनन्, कर्मचारी विना कसरी काम गर्नु ।’
मन्त्री खत्रीले पूर्वाधार विकासका लागि कर्णालीको राजधानी सुर्खेतका बाटा र बसपार्कहरु संघिय सरकारले हेरेको बताए । उनले भने ‘हामीलाई संघिय सरकारले स्पष्ट निति बनाई क्षेत्राधिकार तोकिदिएको पनि छैन ।’ मन्त्री खत्रीका अनुसार बाटोको लागि १ अर्व ५४ करोड बजेट छ । उनी भन्छन् ‘त्यो बजेट हामीले दुरदराजका बाटोको लागि छुट्याएका छौं ।’
कर्मचारीको अभाव रहेको भनिएको कर्णाली प्रदेशका १० जिल्लाका लागि भने १०२३ वटा पूर्वाधार विकासका योजनामा बजेट विनियोजन गरेको कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव कमलकुमार अधिकारीले भौतिक पूर्वाधार विकास मन्त्रालयमा पूर्वाधारका साना योजनाहरुका काम भएपनि ठुला योजनाहरुको काम हुन नसकेको बताए । उनले पूर्वाधार विकासका लागि बजेट छुट्याउने कर्मचारी नहुँदा काम प्रभावित भएको बताए ।
उपसचिव अधिकारीले चालु आर्थिक वर्षमा दुई करोड ३२ लाख ९६ हजार खर्च भएको जानकारी दिए । उनले पूँजीगत खर्च बापत ५२ लाख ३३ हजार खर्च भएको जनाए ।
उपसचिव अधिकारीले दिएको जानकारी अनुसार सशर्त अनुदान तर्फ एक करोड ५९ हजार रुपैयाँ खर्च भएको छ भने समानीकरण अनुदानतर्फ ५६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।
प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार १५:१७