तनहुँ, २६ भदौ । ग्रिल उद्योगमा काम गर्ने क्रममा तनहुँमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं ३ स्थित दाजुभाइ ग्रिल उद्योगमा काम गर्ने सोही ठाउँका ६५ वर्षीय कलिलुम मियाँको गएराति मृत्यु भएको हो ।
काम गर्ने सिलसिलामा शनिबार साँझ करेन्ट लागेर अचेत अवस्थामा रहेका मियाँको दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
उक्त उद्योगमा काम गर्ने अरु कामदार नभएको समयमा करेन्ट लागेका कारण पनि समयमा उपचार पाउन नसकेको प्रहरीले जनाएको छ ।
व्यवसायीद्वारा प्रहरीलाई अग्नि नियन्त्रक यन्त्र प्रदान
उद्योग वाणिज्य सङ्घ तनहुँले जिल्ला प्रहरी कार्यालय, तनहुँलाई अग्नि नियन्त्रक यन्त्र प्रदान गरेको छ ।
बजार क्षेत्रमा हुन सक्ने आगलागीका घटनालाई न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले प्रहरीलाई १४ थान अग्नि नियन्त्रक यन्त्र प्रदान गरिएको हो ।
सङ्घका अध्यक्ष कृष्णराज पण्डितले शनिबार प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलाई सो अग्नि नियन्त्रक यन्त्र प्रदान गरेका थिए ।
आकस्मिक रुपमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबैको साझा प्रयास हुन जरुरी रहेको प्रहरी नायब उपरीक्षक गुरुङले बताए। रासस