काठमाडौँ, २७ भदौ । एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर ताकुया याकोहामाले नेपालको विकास प्रयासमा एडिवीको निरन्तर सहयोग रहने वताउँदै आयोजनाहरुको सफल कार्यान्वयन गर्न प्रोजेक्ट बैंक वनाएर अघि बढ्न प्रस्ताव गरेका छन् । याकोहामाको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै मन्त्री केसीले त्यस सम्वन्धमा आवश्यक पहल गर्न आफ्नो तर्फवाट अधिकतम प्रयास हुने बिश्वास दिलाएका छन् ।
सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले विश्व बैंक र एशियाली विकास वैंकका अधिकारीहरुसँग सोमबार छुट्टाछुट्टै भेटका क्रममा एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर याकोहामाले यस्तो प्रस्ताव गरेका हुन् । भेटमा मन्त्री केसीले नेपालको विकास प्रयासमा विश्व वैंक र एशियाली विकास वैंकको सहयोगको अवस्था र व्यवस्थित सहरीकरणका लागि अपनाउनु पर्ने रणनीतिहरु तथा भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयहरुमा छलफल गरेका छन् ।
बिश्व वैंकका कन्ट्री म्यानेजर ताकुया कामातासँगको भेटमा मन्त्री केसीले बिश्व वैंकको सहयोगमा सहरी शासकीय तथा क्षमता विकास कार्यक्रम, उदीयमान सहर परियोजना सञ्चालन भइरहेका ६ वटा नगरपालिकामा नगरपालिकाको क्षमता अभिबृद्धि, संस्थागत र पूर्वाधार विकासका साथै राजश्व संकलनका क्षेत्रमा सहनीय काम भइरहेको उल्लेख गर्दे दोस्रो चरणमा अध्ययन गरिएका १६ नगरपालिका र तेस्रो चरणमा २५ वटा नगरपालिकामा परियोजना सञ्चालन गर्न सहयोगका लागि आग्रह गरेका छन् ।
मन्त्री केसीले विश्व वैंकको राष्ट्रिय रणनीतिमा सहरी विकास प्राथमिकतामा पार्न आग्रह गर्दे सहयोगका क्षेत्र निर्धारण गर्दा एकिकृत पूर्वाधार विकासमा ध्यान दिन समेत आग्रह गरे । उनले सरकार भूकम्प पछिको पुनर्निर्माणमा क्रियाशिल रहेको वताउँदै वनिसकेका घरहरुलाई पनि मापदण्ड भित्र पर्ने वनाएर उनीहरुलाई सहयोग गर्ने जानकारी समेत दिए ।
भेटका क्रममा कन्ट्री डाईरेक्टर कामाताले सहरी विकास मन्त्रीसँगको भेटघाट अर्थपूर्ण रहेको वताउँदै नगरपालिकाहरुको एकिकृत विकास हुनुपर्ने मन्त्रीको धारणालाई आफूले महत्वका साथ लिएको वताए । कामाताले नेपालको भूकम्प पछिको पुनर्निर्माणमा आवश्यक सहयोग गर्न विश्व वैंक प्रतिवद्ध रहेको धारणा समेत व्यक्त गरे । भेटमा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा र विश्व वैंककी खानेपानी तथा सरसफाई विज्ञ शिल्भा श्रेष्ठको समेत उपस्थिति थियो ।
यसैगरी सोमवारै सहरी विकास मन्त्री केसीसँग एशियाली विकास वैंकका कन्ट्री डाईरेक्टर केनिची याकोहामाले पनि शिष्टाचार भेट गरेका छन् । भेटमा मन्त्री केसी र याकोहामा वीच नेपालको व्यवस्थित सहरी विकास र एशियाली बिकास वैंकको सहयोगका सम्वन्धमा छलफल भएको थियो ।
त्यसक्रममा मन्त्री केसीले सहरी वातावरणीय सुधार आयोजना, काठमाडौं सहरी विकास आयोजना र पोखरा पर्यटकीय एकिकृत सहरी विकास आयोजना एशियाली विकास वैंकको सहयोगमा सम्पन्न भएकोमा नेपाल सरकारको तर्फवाट धन्यवाद ज्ञापन गर्दे मन्त्रालयले घोषणा गरेका स्मार्ट सिटी र पूर्व पश्चिम हुलाकी मार्गमा स्थापित हुने तथा मध्य पहाडी राजमार्गमा वन्ने सहरहरु मापदण्ड अनुरुप वनाउन एशियाली विकास वैंकको संलग्नताका लागि आग्रह समेत गरे ।
मन्त्री केसीले सरकारले घोषणा गरेका २१७ नगरपालिकामा ४२ प्रतिशत जनताको वसोवास रहेपनि न्यूनतम् आधारभूत पूर्वाधार नभएकाले यसका लागि पनि लगानीमा सम्लग्न हुन एडिवीलाई आग्रह गरे ।
मन्त्री केसीले एशियाली विकास बैंकको सहयोगमा करिब १५ अर्व रुपैयाँको लागतमा भिमदत्त, पिपलाडी, अत्तरीया, धनगढी नगरपालिकामा सञ्चालन हुन गइरहेको क्षेत्रीय सहरी विकास आयोजना र विराटनगर विरगञ्ज, नेपालगञ्ज र रुपन्देही नगरपालिकामा सहरी पूर्वाधार निर्माण आयोजनाको सफल कार्यान्वयन गरी सहयोगको सदुपयोग गरिने विश्वास दिलाउँदै एशियाली विकास बैंकको लगानीमा भइरहेका आयोजनाहरुमा तोकिएअनुसार नै खर्च हुने अवस्था सिर्जना गर्न र देखिएका समस्याहरु समाधान गर्न मातहतका निकायहरुको प्रभावकारी परिचालन गरिने बिश्वास समेत दिलाए ।
प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार १८:५४