काठमाडौँ, २८ भदौ । गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताइन् ।
मङ्गलबार बिहान अस्पतालमा भेटिएकी उनले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गरिन् ।
आज स्वास्थ्यमन्त्री गगनकुमार थापा अस्पतालको निरीक्षण गर्न त्यहाँ पुग्दा बिरामीदेखि चिकित्सकले आकस्मिक कक्ष सुधार हुनुपर्ने माग गरेका थिए ।
गौशालाबाट छोरीको उपचार गर्न पखाईमा बसेकी देवी शर्माले बालबालिकाको उपचार यहाँ भन्दा अन्य अस्पतालमा राम्रो नहुने भन्ने लागेर जति भीड हुदाँ पनि आफू सधैँ कान्ति नै आउने गरेको बताइन् । उनले भनिन्–‘‘ आजपनि बिहानै आएपनि पालोआएको छैन । थोरै चिकित्सक भएकाले धेरै भीड हुन्छ । पालो पाउनै सकिन्न । कतिजना त पालो नपाएर अरु अस्पतालमा जानुपर्ने बाध्यता छ ।’’
यस्तै, अस्पतालमा आइसियूमा शै्य्या नपाएर धेरै बिरामी उपचारबाट वञ्चित हुनुपरेको गुनासो आएको भन्दै मन्त्री थापाले अस्पताल प्रशासनलाई बजेटको अभावमा रोकिएको निमार्णाधीन ५२ शै्य्याको आइसियू शैयालाई अगाडि बढाउन निर्देशन दिए ।
वर्षमा कति बिरामी उपचार पाउन नसकेर फर्किए त्यसको कारणसहित प्रतिवेदन बुझाउन तथा सानो प्रयासबाट सुधार गर्न सकिने आकस्मिक कक्ष, आयसियूको व्यवस्था सूचना कक्ष, त्यहाँको उपचार प्रक्रियाबारे जानकारी दिन र सरसफाइमा तुरुन्तै सुधार गर्न पनि निर्देशन दिए ।
मन्त्री थापाले यो अस्पताल देशकै एक मात्र बालअस्पताल भएको र यहाँको सेवा पनि उत्कृष्ट भएभएकाले तीन महिनामा अस्पतालमा धेरै परिवर्तनका लागि पहल गर्ने बताए ।
‘‘ कुनैपनि बिरामी बच्चा उपचार नपाएर फर्कनुहुदैँन । यस्तो अवस्था आउन नदिन के गर्नुपर्छ । तपाईहरुले स्पष्ट समाधानसहितको खाका तयार गर्नुस् । सुधारको कार्य आजैबाट सुरु गरौँ,’’ मन्त्री थापाले भने ।
उनले आम नागरिकलाई आफ्ना बालबालिकाको नाममा गर्ने खर्च कटौति गरेर केही रकम यस अस्पतालमा उपचार गराउन नसक्नेलाई सहयोग पुर्याउन अपिल गरे ।
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले रकमको अभावमा अड्किएको आइसियूको स्तरोन्नतीमा कुनै समस्या आउन नदिने बताए ।
अस्पतालले आफ्नो १८ शै्य्याको आइसियू बढाएर ५२ शै्य्याको पुर्याउन लागको तर त्यसको लागि आवश्यक जनशक्ति अभाव भएको भन्ने अस्पतालका निर्देशक डा अजित रायमाझीको भनाइमा सचिव उप्रेतीले त्यसमा पनि मन्त्रालयले सहयोग उपलब्ध गराउने जानकारी दिए ।
अस्पतालका बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले देशभरीका बालबालिका उपचार गर्न कान्ति बाल अस्पतालमा नै आउने भएकाले बिरामीको अत्यधिक चाप रहेको तर दरबन्दी २०४० देखि अहिलेसम्मथप नभएको गुनासो जानकारी दिए ।
अहिले कान्ति बाल अस्पतालको आकास्मिक कक्षमा दैनिक ३०० र बहिरङ्ग (ओपिडी) मा ६०० बिरामी आउने भएकाले जाँच गर्न जनशक्ति पनि अपुग भएको र एउटा चिकित्सकले दिनमा ६० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ उनले भने ।
यस अस्पताललाई राष्ट्रिय बालस्वास्थ्य प्रतिष्ठान बनाइ अगाडि बढाउनुपर्ने माग पनि अस्पताल प्रशासनले मन्त्री समक्ष राखेको छ । रासस