पोखरा, २८ असोज (रासस)। राष्ट्रिय समाचार समितिको निर्माण गर्न लागिएको प्रादेशिक कार्यालय भवनका सम्बन्धमा आज यहाँ सरोकारहरुसँग छलफल गरिएको छ ।
रासस बृहत्तर हित उपसमितिको आयोजनामा आयोजित छलफलमा रासस देशका लागि अपरिहार्य संस्था भएको बताउँदै यसलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन आवश्यक भएकामा जोड दिइयो ।
कार्यक्रममा कास्कीका प्रजिअ तारानाथ अधिकारीले राससले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन आर्थिक रुपमा पनि आत्मनिर्भर बनाउँदै लैजानुपर्ने बताए ।
राससका महाप्रबन्धक एवं उपसमितिका संयोजक ओपेन्द्र शर्माले राससलाई आत्मनिर्भर बनाउने सन्दर्भमा प्रादेशिक भवन निर्माण गर्न लागिएको बताए । रासस सञ्चालक सदस्य एवं सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव गोविन्दसिंह भण्डारीले राससका नाममा रहेका जग्गा प्रमुख शहरका केन्द्र भागमा रहेको बताउँदै अब निर्माण हुने भवन कम्तीमा ५० वर्षका आवश्यकतालाई सम्बोधन गर्ने किसिमबाट बनाउनुपर्ने धारणा राखे ।
रासस प्रशासन महाशाखा प्रमुख सोमनाथ लामिछानेले देशको परिवर्तित संघीय संरचनाबमोजिम प्रदेशका समाचार संकलन र सम्प्रेषणमा थप प्रभावकारिता ल्याउन सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको जानकारी दिए । राससका कार्यकारी व्यवस्थापक उत्तम सिलवालले प्राप्त सुझाव समेतलाई दृष्टिगत गरी निर्माणका थप प्रक्रिया बढाइने बताए ।
कर्मचारी सञ्चय कोष पोखरा कार्यालयका प्रमुख दिलीप पौडेलले अब बन्ने भवन व्यवस्थित पार्किङसहित दीर्घकालीन सोचका साथ निर्माण गर्न सुझाव दिए ।
पोखरा लेखनाथ महानगरपालिका–९ का वडाध्यक्ष रामराज लामिछानेले भवन निर्माणका सम्बन्धमा वडा कार्यालयका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पोखराका इञ्जिनीयर बुद्धिराम चौधरीले भवन निर्माणसम्बन्धी प्राविधिक पक्षबारे प्रकाश पारे ।
नेपाल सरकारको सहयोगमा निर्माण गरिने उक्त भवन यसै आवमा शुरु गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा राससमा क्रियाशील विभिन्न संघ संगठनका प्रतिनिधिसहित राससकर्मीको सहभागिता थियो । तस्वीर उपलब्ध छ ।
प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार १६:१२