सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) टि ट्वान्टी राष्ट्रिय टुर्नामेन्टका लागि आवश्यक तयारी थालिएको छ ।
बैशाख दोस्रो साता देखि वीरेन्द्रनगरमा सञ्चालन हुने दोस्रो संस्करणको केपिएल सञ्चालनका लागि खेलमैदान लगायत आवश्यक पूर्वाधार निर्माण कार्य तयारी थालिएको हो ।
पछिल्लो समय कर्णालीमा खेलकुद गतिविधि बढ्दै गएपनि खेल मैदान नहुदाँ ठूला प्रतियोगिता संञ्चालन गर्न समस्या हुने गरेको छ । मैदान अभाव हुँदा दोस्रो संस्करणको केपिएलका लागि खेलाडीहरू खाली ठाउँको उपयोग गर्दै अभ्यास गरिरहेका छन् ।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाहीले बताए । कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउने, राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबहरुको सहभागिता रहने उनको भनाई छ । राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता प्रदेशकै सर्वाधिक धनराशी हुने उनले जनाए । करिव १० दिनसम्म सञ्चालन हुने प्रतियोगिता झण्डै ६० लाख खर्च हुने अनुमान गरिएको छ । साथै, खेलमा सहभागी हुने क्लबहरुले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन सक्ने छन् ।
प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा बिभाजन गरि प्रत्येकले एक–अर्कासँग १–१ खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिमले सेमीफाइनलमा खेल्न पाउने छन् ।
लिग–कम नक–आउट फम्र्याटमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने संयोजक शाहीको भनाई छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने अध्यक्ष शाहीले बताए ।
यस अघि कर्णाली प्रिमियर लिगको पहिलो संस्करण बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो । पहिलो संस्करणमा विजेतालाई तीन लाख रुपैयाँ दिइएको थियो ।
प्रकाशित मिति: १८ चैत्र २०७५, सोमबार १४:२६