सुर्खेत, १२ फागुन । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई समेट्नका लागि यूटुव च्यानलको शुभारम्भ गरेको छ । वाणिज्य संघ सुर्खेतले आफ्नो ३४ औं वार्षिक साधारण सभाको अवसरमा यूटुव च्यानलको शुभारम्भ गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ६ का मुख्यमन्त्री महेन्द्रकुमार शाहीले वाणिज्य संघलाई अघि बढाउनका लागि यहाँका उद्योगी, व्यापारीहरुले लगानीमैत्री गर्न जरुरी रहेको बताएका छन् । उनले यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा यहाँका जनता रहनुपर्नेमा जोड दिए ।
प्रदेश नं. ६ मा जडिबुटी प्रशस्त मात्रामा भएपनि अझैपनि सही सदुपयोग हुन नसकेको मुख्यमन्त्री शाही बताए । उनले प्रदेश नं. ६ मा भएका जल, जमिन, जडिबुटी, पर्यटनस्थललाई सही सदुपयोग गरेर अघि बढ्न यहाँका उद्योगी, व्यापारीहरुलाई आग्रह गरे ।
कार्यक्रकममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले यहाँको औद्याेगिकरण गरेर प्रदेश सरकार अघि बढ्नुपर्ने बताए । अध्यक्ष अधिकारीले प्रदेश सरकारले प्रदेश नं. ६ मा विमानस्थल निर्माण लगायतका महत्वपूर्ण कार्यहरु तत्काल गनुपर्ने जनाए । उनले उद्योग वाणिज्य संघलाई अघि लैजानका लागि सबै उद्योगी, व्यापारीहरु एकजुट भएर अघि बढ्दै जाने बताए । लगानी मैत्री वातावरणको अवस्था सृर्जना गर्नुपर्ने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय कार्यकारी सदस्य टेकबहादुर भन्डारीले सबै उद्योगी व्यापारीहरुलाई एक अर्काको खुट्टा तानातान गर्नु भन्दा पनि सबै एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले आर्थिक पाटोलाई अब्बल गराउनका निम्ति सबै उद्योगी, व्यापारीहरुको महत्वपुर्ण भुमिका हुने भएकाले सबै उद्योगी, व्यापारीहरु एकजुट भएर अघि जान अनुरोध गरे ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश उद्योग वाणिज्य महासंघ का अध्यक्ष पदमबहादुर शाहीले सुर्खेतमा भएको प्रदेश स्तरीय महोत्सव विरोधका बाबजुद चलेपनि आगामी दिनहरुमा यस्ता अनुशासनहिन काम काम नगर्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देल, नगरप्रमुख देवकुमार सुवेदी, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय कार्यकारी सदस्य टेक भण्डारी, सुर्खेत उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेति, महासचिव गोपालकृष्ण गिरी लगाएतले आ–आफ्नो भनाई राखेका थिए भने प्रदेश ६ का उपसभामुख पुष्पा घर्ती, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के.सी., प्रदेश सांसद ठम्मर विष्ठ लगायतको उपस्थिति रहेको थियो ।
३४ औँ साधारण सभाका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न विधामा रहेर काम गरेका उद्यमी, मिडियालाई सम्मान गरेको छ । वाणिज्य संघले उद्योग वाणिज्य संघका उत्कृष्ट कर्मचारीमा सज्ज्त खाँनलाई सम्मान गरेको छ भने महिला उद्यमी दृष्टिबिहिन रेनुका कोईरालालाई सम्मान गरेको छ ।
उद्योग वाणिज्य तर्फ सुर्खेत सर्जिकल एण्ड साइन्स श्याम विष्टलाई सम्मान गरेको थियो । जेपी बहुउद्देश्यीय गार्मेन्ट उद्योगका धनबहादुर रावललाई सम्मान गरिएको थियो भने वाणिज्य संघको गतिविधि र आर्थिक पाटोमा कलम चलाए वापत खबरइरा डटकमका संवाददाता बिमला खड्कालाई सम्मान गरिएको थियो । साथै ३४ औँ साधारणसभामा समिक्षा आचार्य स्मृति छात्रबृति पुरस्कारबाट ३ जना दृष्टिबिहिनलाई पुरस्कृत गरिएको थियो ।
प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार १७:४०