सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा परिचित काँक्रेविहारलाई खुल्ला चिडियाखाना बनाइने भएको छ । एक प्रदेश एक चिडियाखाना बनाउने संघीय सरकारले योजना अगाडि सारिरहेका बेला कर्णाली प्रदेश सरकारले काँक्रेविहारलाई खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने योजना सुनाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँक्रेविहारलाई व्यवस्थित गर्दै खुल्ला चिडियाखाना बनाउने प्रदेश सरकारको योजना रहेको बताएका छन् । ‘काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्व बोकेको स्थल हो,’ उनले भने, ‘यसलाई संरक्षण गरी खुल्ला चिडियाखाना बनाउने काममा सरकार अघि बढ्छ ।’ काँक्रेविहारमा रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने मुख्यमन्त्री शाहीको भनाइ छ । उनका अनुसार ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना प्रदेश सरकारको रहेको छ ।
काँक्रेविहारमा पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीय सरकारले पनि विशेष पहल थालेको छ । प्रदेश सरकारले खुल्ला ‘जु’ बनाउने योजना सुनाईरहँदा वीरेन्द्रनगर नगरपालिकाले मिनी ‘जु’ निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर संघीय सरकारसमक्ष प्रस्ताव पेश गरेको छ ।
नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले काँक्रेविहार क्षेत्रमा संरक्षित वन क्षेत्र भएको भन्दै ‘जु’ बनाउन स्वीकृतिका लागि वन विभागमा प्रस्ताव पेश गरेको जानकारी दिए । ‘मन्त्रालयबाट स्वीकृत प्राप्त भयो भने हामी काम सुरु गर्छौ“,’ उनले भने, ‘केन्द्र सरकारले पनि चिडियाखाना बनाउने भन्ने छ, स्वीकृत पाउछौ“ होला ।’ अहिले नगरपालिकाले काँक्रेविहार क्षेत्रमा हेरालुको पनि व्यवस्था गरेको उनले बताए । ‘केन्द्र सरकारकै लगानीमा काँक्रेविहारमा मन्दिर बन्दैछ,’ उनले भने, ‘स्थानीय सरकार पनि यसको संरक्षण र व्यवस्थापनमा गम्भीर भएर लागेको छ ।’
काँक्रेविहारमा पिकनिक खान जानेहरुको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा फोहर पनि बढ्दै गएको छ । फोहरका कारण काँक्रेविहार क्षेत्र पनि कुरुप बन्न थालेको छ । थुप्रिएको फोहर व्यवस्थापन गर्नका लागि स्थानीय सरकार गम्भीर भएर लागेको वडा नम्बर ९ का अध्यक्ष सुरेश मानन्धरले बताए । काँक्रेविहार आफ्नै वडामा भएकाले पनि फोहर व्यवस्थापनको जिम्मा लिएको उनको भनाइ छ । अध्यक्ष मानन्धरले काँक्रेविहार क्षेत्र वरिपरि नगरपालिकाको सहयोगमा कम्पाउण्ड वाल निर्माण गरिने पनि जानकारी दिए । उनका अनुसार काँक्रेविहारमा निर्माणाधीन पुरातात्विक मन्दिरको काम पनि अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्र उक्त मन्दिर निर्माणको काम पनि सम्पन्न हुने उनको भनाइ छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार १८:०२