मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
२५ आश्विन २०७७, आईतवार १५:४०सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै पार्टी नेकपाका सांसदहरूले हस्ताक्षर अभियान चलाएका छन् ।
आइतवार पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरी सत्तारुढ दलकै १८ जना प्रदेशसभा सदस्यहरुले संयुक्तरुपमा हस्ताक्षर गरी संसदीय दलको नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपर विश्वास नभएकोले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
यामलाल कंडेलको नेतृत्वमा १८ जना प्रदेशसभा सदस्यहरुले विभिन्न कारण देखाएर अविश्वासको प्रस्ताव दर्ता गराएको जनाइएको छ ।
नेकपाको संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने जानकारी दिनुभयो । उहाँका अनुसार हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद रहेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएकाले अविश्वासको प्रस्ताव दर्ता गरेको जनाएका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरुमा यामलाल कंडेल, चन्द्रबहादुर शाही, करबीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशील थापा, मिनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पद्मा खड्का, कैशिलावली खत्री, पुष्पा घर्ती (विष्ट), राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, ठम्मरबहादुर विष्ठ, बद्मी क्वाँरी बोहोरो र देवी ओली रहेका छन् ।
कर्णालीमा नेकपाका ३२ जना प्रदेशसभा सदस्य छन् । एक जना सभामुख हुनुहुन्छ । १८ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा पर्नुभएको छ । कर्णालीमा ४० सदस्य प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ जना र एक जना राप्रपाका हुनुहुन्छ ।