कांग्रेस केन्द्रीय सदस्यलाई कोरोना देखिएपछि केन्द्रीय समिति बैठक स्थगित
१८ आश्विन २०७७, आईतवार १४:५८काठमाडौं । नेपाली कांग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेले सोमबारको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको छ । यस्तै अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको पौडेलले जानकारी दिनुभएको छ ।
‘कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको छ’, पौडेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।