कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिए
२ आश्विन २०७७, शुक्रबार १८:३१काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार २० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्म ६१ हजार ५९३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित १७ हजार ३४३ छन् । पछिल्लो २४ घण्टामा एक हजार ८७१ जना सङ्क्रमित सङ्क्रमण मुक्त भई घर फर्केका छन् । योसँगै निको हुने कुल ४३ हजार ८२० पुगेको छ ।
आइसोलेसनमा कुल १७ हजार ३८३ पुगेको छ । संस्थागत आइसोलेसनमा नौहजार २९५ र होम आइसोलेसनमा आठहजार ८८ रहेका छन् । क्वारेन्टिनमा सात हजार ७३६ जना छन् ।
सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३९० पुगेको छ ।