काेराेना रोकथामका लागि क्रियाकलाप बढाउँदैछौँ : मन्त्री ढकाल
२४ भाद्र २०७७, बुधबार १९:३१काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एशिया) ७३ औँ बैठकलाई आज भर्चुअल सम्बोधनका क्रममा उहाँले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको जनाउँदै त्यस्ता क्षेत्रमा पिसीआर परीक्षण, आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर सुदृढ गरिएको बताउनुभयो ।
मन्त्री ढकालले भूकम्प र तत्पश्चात थुप्रै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाहरूको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपत्कालीन औषधि विकास समूह (इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम), हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको पनि जिकिर गर्नुभयो ।
“कोभिड–१९ महामारी अन्य स्वास्थ्य आपतकालभन्दा नितान्त भिन्न भए पनि आधारभूत व्यवस्थाले हामीलाई स्थापित संयन्त्रलाई थप सबल बनाउँदै द्रुतगतिमा कार्यान्वयन गर्न मद्दत गरेको छ”, उहाँले भन्नुभयो, “यस महामारीका बेला स्वास्थ्य सेवाहरू केही हदसम्म प्रभावित भएको भए तापनि नेपालले अत्यावश्यक स्वास्थ्य सेवा र प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रमहरूको निरन्तरता सुनिश्चित गर्न धेरै पहल गरेको छ ।”