शुक्रबार, कार्तिक ७, २०७७

सुस्तरी यात्रा गर्दै रातो मच्छिन्द्रनाथ

२१ भाद्र २०७७, आईतवार २१:४५
सुभानु आचार्य

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । अपराह्न ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटी नजिकै पुर्याइएको हो । यस वर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको नीलो टोपी र गन्जी, मुखमा मास्क, हातमा पञ्जा लगाई दुईतिर बसेर शान्त्तपूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मुलुकमा कोभिड सङ्क्रमण बढ्दै जाँदा आवश्यक मानिसलाई मात्र रथयात्रा गर्न लगायौँ ।” रथयात्रालाई विधिपूर्वक काँसहित विभिन्न बाजा बजाएर सम्पन्न गरिएको महर्जनले जानकारी गराउनुभयो ।

रथयात्रामा सहभागीले खुशीका साथ पहिला हात हल्लाएर ‘होस्टे, हैंसे’ शब्दको उच्चारण गरी बल लगाएर रथलाई विस्तारैविस्तारै तानेर पाटी नजिकै पुर्याएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “रथयात्रा गर्न उपस्थित सहभागीले बेलाबेलामा रथ तान्ने र समयसमयमा नाच्ने गरेको दृष्यले पुल्चोक एकदमै मनमोहक भयो ।” मच्छिन्द्रनाथको रथमा राता, सेता ध्वजाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएको ध्वजासमेत खुबै फरफराएको महर्जनले जानकारी गराउनुभयो ।

उक्त रथयात्रामा प्रतिनिधिसभाका र प्रदेशसभाका सदस्य पम्फा भुसाल, राजकाजी महर्जन र शोभा शाक्य सहभागी हुनुभएको थियो । सोह्रखुट्टे पाटी नजिकै रहेका घरघरका मानिसले भने घरघरैबाट रथयात्राको आनन्द लिइरहेका थिए । लोकेश्वर नजिकै रथमा केही मानिस र पानेजु बसेका देखिन्थे । सुरक्षा व्यवस्था अति नै कडा थियो । गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५०० मिटर मीननाथको रथयात्रा पनि सम्पन्न भयो । लोकनाथ र मीननाथका दुवै रथयात्रा गर्न मानिस उपस्थित भएका थिए । रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराउनुभयो ।

यस वर्ष रथयात्रा छेउमा महिला भने देखिएका थिएनन् । पुल्चोकमा उपस्थित सीमित मानिस, पुजारी, सञ्चारकर्मी र सुरक्षाकर्मीले मात्र यस वर्ष प्रत्यक्ष रुपमा रथयात्रा हेर्न मौका पाएका देखिन्थे । विगतका वर्षमा मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर शुभ साइतअनुसार भोटो जात्रा गर्ने गरिन्थ्यो । यसपटक भने त्यसो नगरिने भएको भदौ १८ गते १९ औँ जातीय खलः पुचले निकालेको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको थियो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुपकामाक्षाबाट नेपाल ल्याएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share