अवरुद्ध नाग्म – गमगढी सडक सुचारु
११ भाद्र २०७७, बिहीबार १३:१७मुगु । बर्षाका कारण बिगत १ महिनादेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग अन्तरर्गत पर्ने नाग्म–गमगढी सडक बुधवार बाट सुचारु भएको छ ।
लगातारको बर्षाको कारण नाग्म देखि गमगढी सम्मका बिभिन्न स्थानका सडक खण्डहरुमा पहिरो जानुका साथै कच्ची सडक हिलाम्य भएपछि बिगत १ महिना देखि सडक अवरुद्ध भएको थियो । पहिरोले सडक अवरुद्ध भएपछि सडक खुलाउनकालागि सडक डिभिजन कार्यालय जुम्लाले मुगुको ताल्च र जुम्लाको सिंजा देखि दुबैतिर बाट स्काईवेटर प्रयोग गरि अवरोध हटाएपछि बुधवारदेखि नाग्म–गमगढी सडक खुलेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारीले जानकारी दिनुभयो ।
मुगुको सातमोड र ताल्चा जुम्लाको जियभिरदेखि सिंजा तिरको बाटोको अधिकांस भागमा ग्राभेल भैसकेकोले अबका दिनमा सामान्यतय गाडी, ट्रक आउनलाई कुनै किसिमको समस्या नहुने डिभिजन प्रमुख भण्डारीले बताउनु भयो । जुम्लाको घोडाङ्ग्या भन्ने स्थानमा सडकमा खाल्डोको समस्या भएपनि त्यसलाई एक – दुई दिनमै मर्मत गर्ने भण्डारीको भनाई छ ।
जुम्लाको सिंजातिरको सडक खण्डमा हरेक बर्ष बर्षाको समयमा हिलो जमेर गाडी आउन मुस्किल हुने गरेको भएपनि उक्त स्थानका हाल केही भाग ग्राभेल समेत भैसकेको र केही भुभागमा आवश्यक मर्मत गरिसकिएकाले उक्त स्थानमा गाडी आउन जान कुनै समस्या नहुने डिभिजन कार्यालय प्रमुख भण्डारीले जनाउनुभयो ।
लामो समय सम्म मुगुमा गाडी बन्द भएपछि दैनिक उपभोग्य बस्तु चामल, तेल पिठो चिनी, साबुन, लगायत निर्माण सामग्रीको अभाव भएको थियो । सडक खुलेपछि एकदुई दिनमै मालसामानको अभाव हटेर जाने अपेक्षा गरिएको छ ।