आइतवार, कार्तिक ९, २०७७

रारा जाने छोटो बाटो निर्माण अन्तिम चरणमा

२ भाद्र २०७७, मंगलवार १६:३४
रासस

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो ।

नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय मार्ग निर्माण थालेपछि सदरमुकामबाट रारा पुग्न अब सात किमी दूरी छोटो हुने भएको छ । कणाली राजमार्ग भएर रारा आउने पर्यटक दूरी टाढा हँुदा सदरमुकाम गमगढी नझरेर फकर्ने गर्दै आएका छन् । सदरमुकामको सिरानमा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि त्यसको फाइदा सदरमुकामवासीले लिन सकेको थिएनन् ।

अब सदरमुकामबाटै छोटो दूरीको पर्यटकीय मार्र्ग निर्माण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन् । रारा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि यहाँ खान, बस्नको भरपर्दो व्यवस्था नहुँदा स्वर्गमा आएर बाँस, गाँसको समस्या भोग्नुपरेको पर्यटकले गुनासो गर्दै आएका थिए । सदरमुकामबाटै छोटो दूरीमा रारा पुग्ने पर्यटकीय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधासम्पन्न होटेलमा पर्यटक बास बस्न, रारा घुमेर पुन बास बस्न सदरमुकाममै आउन सक्नेछन् ।

रारामा तालबाहेक अन्य पर्यटकीयस्थलको विकास र प्रचारप्रसार नहुँदा पर्यटक बसाई छोटाएर फर्कने गरेका थिए, सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर, छायाँनाथ, ऋणिमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनुका साथै रु एकमा अङ्किल चङ्खेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकको बसाई लम्बिनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनेछ ।

प्रसिद्ध तीर्थस्थल छायाँनाथ शिवजीले राराको पश्चिम किनारमा लात्ती हानेकाले त्यहाँबाट पानी बाहिर जान थाल्यो र खत्याड खोला बन्यो भन्ने किंवदन्ती पनि छ । पूर्वतिर फर्केका त्रिवेणी, नदीखोला बगर, ताल तलाउ, दहलाई धार्मिक र सांस्कृतिक हिसाबले बढी महत्वपूर्ण मानिन्छ । राराको निकास पश्चिमबाट गएकाले यस ताललाई दहका रूपमा मात्र गणना गर्ने गरिन्छ । रारा तालको पूर्वतिर अग्लो सिरानीमा छायाँनाथ तीर्थस्थल छ ।

यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जाँदा बाटोमा पर्ने तलितुम, सायाँखोला र माथीतुम गाउँहरुको ग्रामीण रहनसहन, चालचलन, धर्म संस्कृति देख्न पाइने छ भने यो मार्गको निर्माणले ग्रामीण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ । रारा घुम्न आउने पर्यटकलाई सदरमुकामतर्फ तान्न र पर्यटकलाई यहाँ रहेका राराबाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकीय मार्ग निर्माण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताउनुभयो ।

गत आवमा नगरपालिकाले यो मार्ग निमार्णका लागि रु ५९ लाख रकम विनियोजन गरेको थियो भने यो वर्ष पनि यो मार्गलाई निरन्तरता दिई निर्माणका लागि बजेट छुट्याएको छ । सोमबार नगरप्रमुख हरिजंग शाही, पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, वडा नं २ का वडाध्यक्ष परेकराज चौलागाई, समाजसेवी देवीकृष्ण रावल, नवराज चौलागाईसहितको टोलीले यो मार्गको निर्माण कार्यप्रगतिको स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमन गर्दा काम सन्तोषजनक पाइएको र चालू आवमा सम्पन्न हुने गरी कामको गति बढाउन निर्माण उपभोक्ता समितिलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “चालू आवमै यो मार्ग सम्पन्न भएर वैशाखबाट नै रारा जान प्रयोगमा आउँछ ।” यो मार्ग निर्माणका लागि पटक पटक विभिन्न फोरममा कुरा उठाएको र पछिल्लो समय नगरपालिकाबाट सदरमुकामवासीको सपना पूरा हुन लागेको बताउँदै उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमलबहादुर बुढाले यो मार्ग सञ्चालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसाय फष्टाउने बताउनुभयो ।

यो पर्यटकीय मार्ग निर्माणका लागि छायाँनाथ रारा नगरपालिकाले आव ०७४÷०७५ मा पाँच लाख, ०७५-०७६ मा २० लाख र गत आवमा ५० लाख छुट्याएर खर्च गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
7 Shares
Tweet
Pin
Share