शुक्रबार, कार्तिक १४, २०७७

विश्वविद्यालयलाई उदाहरणीय बनाउछौँ : उपकुलपति प्रा.डा.सिंह

२१ श्रावण २०७७, बुधबार १९:२९
बिमला खड्का

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले राष्ट्रको अपरिहार्यता अनुसारको अत्याधुनिक पारदर्शीपूर्ण र भ्रष्टारचारमुक्त विश्वविद्यालय बनाउने योजना र रणनीति अनुसार कामको थालनी गरिने बताउनु भएको छ । बुधवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा.सिंहले दुई वर्षमा विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने शैक्षिक योजना समेत सार्वजनिक गर्नुभएको छ ।

कर्णालीका जनताले विश्वविद्यालयबाट ठूलो अपेक्षा गरेको बताउँदै उपकुलपति प्रा.डा.सिंहले उदाहरणीय विश्वविद्यालय निर्माण गर्ने अभियानमा गलत गर्ने जो कोहीलाई कारवाही गरिने र जनताको सपना पुरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले कोभिड १९ का महामारीका बेला देशमा लकडाउन हुँदापनि आफुभने विश्वविद्यालयलाई नयाँ भिजनमा बनाउने तयारीमा जुटेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘लकडाउनका बिचमा पनि हामीले दिनरात लागेर विश्वविद्यालयलाई नयाँ भिजनमा लैजानुपर्छ भन्ने उद्देश्यले डिजाइन र इष्टिमेट तयार पार्यौ ।’

उपकुलपति प्रा.डा. सिंहले विश्वविद्यालयलाई एक्काइसौं शताब्दीको पारदर्शीपूर्ण र भ्रष्टाचारमुक्त विश्वविद्यालय बनाउनका लागि आवश्यक तयारी शुरु गरिएको बताउनु भयो । उहाँले विश्वविद्यालयलाई भौतिक पूर्वाधारको क्षेत्रमा नेपालकै अत्याधुनिक तथा प्रविधियुक्त विश्वविद्यालय बनाउन भौतिक पूर्वाधार निर्माणको लागि बृहत गुरुयोजना सहित डिजाइन र इष्टिमेट समेत गरिएको जनाउनुभयो । विश्वविद्यालयमा रजिष्ट्रार र डिन लगाएतका पदाधिकारीहरुको नियुक्ती पश्चात आवश्यक लगानी जुटाएर निर्माणको प्रक्रिया समेत थालनी गरिने उहाँले बताउनु भयो ।

आर्थिक स्रोत बढाउन एमयूमै योग सेन्टर, पाटीप्यालेस, स्वमिङ पुल, एमयू महल, टेलिस्कोप लगायतका योजनाहरु रहेको उपकुलपति प्रा.डा.सिंहले बताउनु भएको छ । उहाँका अनुसार एमयू महलमा कर्णालीमा उत्पादन हुने सबै सामग्रीको उपलब्ध हुने छ । वीरेन्द्रनगर उपत्यका देखिने गरी विश्वविद्यालयमै नौँ तले भू–टावर (टेलिस्कोप) निर्माण गरिने छ । केन्द्रीय कार्यालय रहेको कुइनेपानीको २० विघाह क्षेत्रफलको बाहिरी कम्पाउन्ड प्यापारिक प्रयोजनाका लागि सटहरु राखिने छ ।

त्यस्तै विश्वविद्यालयभित्रै आम नागरिकका लागि विभिन्न होटल र होस्टेलहरु राखिने छ । होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीले होटलमा काम गर्नेछन् भने प्राध्यापक होटल सञ्चालनको जिम्मेवारी लिने छन् ।

उपकुलपति प्रा.डा. सिंहले अबको दुई वर्षभित्र विश्वविद्यालयका सम्पूर्ण संकायमा अनलाइका कक्षा सञ्चालन गर्ने सम्भव गराउने, आउँदो मंसिरसम्म वीएसी ऐजी, फरेष्ट र हेल्थ साइन्सको अध्यापन सुरु गर्ने योजना अघि सार्नुभएको छ ।

उहाँले विश्वविद्यालयलाई सुधार गर्नकालागि नयाँ भिजनका साथ अभियानको सुरुवात गर्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले ९२ वटा निर्णय गरेको जनाउनु भयो ।

उहाँका अनुसार कोरोना भाइरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचारको सहयोगार्थ नेपाल राष्ट्रिय बाणिज्य बैंकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नं. १९६०००००११०१ मा विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकाय, केन्द्रीय सम्बन्धन प्राप्त तथा आंगिक क्याम्पसमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीबाट उठाएर २८ लाख ५४ हजार ७३२ रुपैँया ७९ पैसा बराबरको रकम सहयोग गर्ने निर्णय गरिएको छ ।

कोभिड १९ महामारी विरुद्ध लड्न विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसबाट हेन्ड स्यानिटाइजर उत्पादन गर्ने निर्णय गरिएको र बैशाख ११ देखि उत्पादन गरि निःशुल्क वितरण गर्ने र त्यसपछिका उत्पादनलाई मुल्य निर्धारण गरि बजारीकरण गर्ने निर्णय गरिएको छ । पूर्वाधार निर्माण परियोजना अन्तर्गत विश्वविद्यालयका ९ वटा आंगिक क्याम्पसलाई ५० लाखको दरले र मुगु क्याम्पसलाई २५ लाख गरि जम्मा ४ करोड ७५ लाख बराबरको रकम विश्वविद्यालयबाट प्रदान गर्ने निर्णय गरिरएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share