मङ्लबार, कार्तिक ११, २०७७

सुर्खेतको नमुना सिटी बसपार्क छिटै सञ्चालनमा आउँदै

१९ श्रावण २०७७, सोमबार २०:४८
बिमला खड्का

सुर्खेत । कर्णाली प्रदेशकै नमुना सिटी बसपार्क आगामी असोज महिनामा सञ्चालनमा आउने भएको छ । सुर्खेतस्थित सिटी बसपार्कको निर्माण कार्य सकिएको झण्डै २ वर्षपछि सञ्चालनमा आउने भएको हो । उच्च अदालतसम्म पुगेको सिटी बसपार्क सञ्चालनको विषयमा टुङ्गो लागेपछि आगामी असोज एक गते देखि सञ्चालनमा ल्याउन लागिएको हो ।

नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि रुष्ट बनेका व्यवसायीले गत वर्ष उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । बसपार्कमा पहिलादेखि नै विभिन्न व्यवसाय गरिरहेका ५४ जना व्यवसायीले नगरपालिकालाई पूर्व सहमतिको पालना नगरेको आरोप लगाउँदै बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेका थिए । उक्त रिटमाथि गत फागुनमा उच्च अदालतले सुनुवाई गर्दै प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी फैसला गरेपछि विवाद सुल्झिएकोे थियो ।

अदालतको फैसलासँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताउनु भयो । उहाँले व्यवसायी र नगरपालिकाबीच विवाद सुल्झिएको बताउँदै असोज महिनामा बसपार्क सञ्चालनमा ल्याउने जनाउनु भयो ।

बसपार्क सञ्चालन गर्ने ठेक्का पीआर कन्स्ट्रक्सनले पाएको छ । कम्पनीसँग सम्झौता गरी बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ । कम्पनीले बसपार्क सञ्चालन गरेबापत मासिक २७ लाख ५६ हजार रुपैयाँ नगरपालिकालाई बुझाउनुपर्ने छ ।

पटकपटक म्याद थप गर्दै चाङ्मिला÷नरसिंह जे. भि.ले ४ वर्षमा ७ करोड ४४ लाख रुपैयाँमा बसपार्क निर्माणको काम सकेको थियो । सञ्चालनमा आउने बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल निर्माण गरिएको छ । बसपार्कमा साना–ठूला गरी १ सय २० बस राख्न सकिने छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share