बाढीपहिरा पीडितलाई प्रदेश सरकारले घर बनाइदिने
१९ श्रावण २०७७, सोमबार २०:३०लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभरिका बाढीपहिरा पीडितको घर प्रदेश सरकारले बनाउने बताउनुभएको छ । गृहजिल्ला लमजुङस्थित आज मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरा प्रभावितलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले लमजुङलगायत प्रदेशका विभिन्न जिल्लामा बाढीपहिराले मानवीय नोक्सानसहित घर भत्किएका परिवारको घर प्रदेश सरकारले बनाउनेछ भन्नुभयो । बाढीपहिराका कारण प्रदेशभरि करिब ५०० घर बनाउनुपर्ने बताइएको छ ।
बाढीपहिरा पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले भूकम्प पीडित सरह राहतस्वरुप रु तीन लाख उपलब्ध गर्ने निर्णय गरिसकेको र यसबाहेक आवश्यक रकम प्रदेश सरकारले थपेर घर निर्माण गर्ने उहाँको भनाइ छ । ‘‘सुरक्षित स्थानमा प्रदेश सरकारले घर निर्माण गर्नेछ भूकम्पको जस्तो आवास पुनःनिर्माणमा ढिलाइ हँुदैन’’, मुख्यमन्त्री गुरुङले भन्नुभयो । सबै घरहरु निर्माण सम्पन्न हुनका लागि कम्तिमा साढे दुई वर्षदेखि तीन वर्ष लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
यही साउन ७ र ८ गते गएको पहिराले पूर्ण क्षति बनाएको तरापु पल्लोटारीका २१ घरलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरो पीडित २१ घरलाई आर्थिक सहयोग गरेको हो । राहत मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई हस्तान्तरण गर्नुभएको थियो । पाँच जनाभन्दा कम परिवार भएका १९ परिवारलाई प्रत्येक परिवारलाई रु १५ हजार र पाँच जना परिवारभन्दा बढी भएको परिवारका दुई जनालाई रु २० हजारका दरले गरी कूल रु तीन लाख २५ हजार सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।
राहत वितरण कार्यक्रममा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक मायानाथ अधिकारी, सांसद मधुमाया अधिकारी, धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतले स्थलगतको निरीक्षण तथा अवलोकन गर्नुभएको थियो ।