शुक्रबार, कार्तिक ७, २०७७

छायाँनाथ धाम जान बाहिरकालाई रोक

८ श्रावण २०७७, बिहीबार १४:३५
विनाेदकुमार मल्ल
46 Shares

मुगु । मुगु जिल्लामा रहेका हिन्दु तथा बौद्ध धर्मालम्विहरुका साझा धार्मिक स्थल छायाँनाथ र ऋणीमोक्क्ष धाममा यो वर्ष जिल्ला बाहिरका भक्तालु धर्मालम्विहरु जान नपाउने भएका छन ।

सरकारले बन्दाबन्दी अन्त्य भएको घोषणा गरेपनि कोरोना संक्रमण नरोकिएकाले धार्मिक स्थलहरुमा विभिन्न ठाउँ तथा क्षेत्रहरुका भक्त्तालुहरुको भिडभाड हुने र कोरोना समुदाय स्तरसम्म फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुगुले साउन महिनामा छायाँनाथ र ऋणीमोक्क्ष धाममा आउने भक्तालुजनलाई नपठाई दिन भन्दै पत्रचार गरेपछि यो वर्ष भक्तालुहरु मुगु आउन नपाउने भएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय मुगुले छायाँनाथ र ऋणीमोक्क्ष धाममा आफ्ना कुल देउता, धामी, झाक्रीहरुलाई शुद्ध गराउन र मनोईच्छा प्राप्ती गर्न बढी भक्तालुहरु आउने जुम्ला, हुम्ला, डोल्पा, कालिकोेट र बाजुरा जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीलाई कोभिड १९ संक्रमण फैलिने जोखिमलाई ध्यानमा राखि त्यहाँ जिल्लाबाट उल्लेखित धार्मिक स्थलहरुमा आउने भक्तजनहरुको आवत जावतलाई रोकिदिन हुन भन्दै अनुरोध गरेको छ ।

मुगु जिल्लाको मुगुम् कार्मारोङ्ग गाउँपालिकाको वडा नं १ डोल्फुमा रहेको छायाँनाथ धाम समुद्री सतह देखि ४ हजार ५ सय मिटरको उचाईमा रहेको छ भने हिमरेखा ५ हजार मिटरको दुरीमा रहेको छ, जहाँ बारै मास हिउँ जम्ने गर्दछ ।

छायाँनाथ रारा नगरपालिका वडा नं १३ मा रहेको ऋणीमोक्ष्य धाम र छायाँनाथ मन्दिरमा वर्षेनी साउन शुक्लपक्ष देखि पूर्णिमासम्म देश भित्रका र छिमेकी देश भारतबाट समेत हजारौ तिर्थयात्रु आफ्ना कुल देवताको शुद्धी, नयाँ धामी, झाक्री औतार गर्न, आफुले चाहेको वर माग्न र पितृहरुको सम्झना गर्न यहाँ आउने गर्दछन् ।

हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथाको १० औं अध्यायका अनुसार दक्षप्रजापतीले आफ्नो घरमा लगाएको महायज्ञमा ३३ कोटी देवी देवताहरुलाई बोलाएपनि भगवान महादेवलाई नबोलाउँदा छोरी सतीदेवीले आफ्ना बुवा दक्षप्रजापतीलाई नबोलाउनुका कारण बारे सोध्दा दक्ष प्रजापतीले महादेव बारे नानाथरीको आरोप लाल्छना लगाउँदै आफ्नो बेईजेत रोक्न ३३ कोटी देवता ज्वाई छोरीलाई बोलाएपनि महादेवलाई नबोलाएको भनेपछि आफ्ना पतिको बेईज्यत सहन नसकि यज्ञको होम कुन्डमा सतीदेवीले हाम्फाली प्राण त्याग गरेपछि महादेव विरक्त भै सतीदेवीको लास बोकी पृथ्वी लोकमा घुम्दै जादा सतीदेवीका अंग जहाँ जहाँ पतन भए ति स्थान शक्तिपिठका रुपमा स्थापना भएको र छायाँनाथमा सतीदेवीका अन्तिममा बाँकी रहेका सबै अंग पतन भएको उल्लेख भएकाले अहिले पनि भगवान महादेव सतीदेवीका अन्तिममा बाँकी रहेका सम्पूर्ण अंग पतन भएको छायाँनाथ धाममा सतीदेवीको मायाले साक्षात रहि यतै बसेको विश्वास गरिन्छ ।

उता ऋणीमोक्ष तिर्थ स्थल बारे हिन्दु धर्मालम्बीहरु छाँयानाथमा महादेव बसेकाले उहाँको ध्यान सतीदेवीबाट मोक्क्ष गराउन अप्सरा तथा देवीहरुले ऋणीमोक्क्षमा नाचगान गरेको र महादेवलाई सतीदेवीबाट ऋणमोक्क्ष गर्न नसकेकाले अझै पनि स्वर्गका अप्सरा तथा देवी देवताहरु त्यहाँ रहेको भन्दै पुजाआजा र आफ्ना पाप मोक्क्ष र वर प्राप्तीका लागि आउने गरेको पुजारी पूर्ण प्रसाद चौलागाई बताउनु हुन्छ ।

हिन्दुधर्मालम्विहरुको प्रमुख आस्थाको केन्द मानिदै आएका यी दुई धार्मिक स्थलहरुमा यो वर्ष जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण भन्दै आगागमनमा रोक लगाएपछि अव के गर्ने कसरी आउने भन्दै चिन्ता प्रकट गरेर टाढा टाढा जिल्लाबाट आफुलाई सम्पर्क गर्ने गरेको ब्रामण लक्ष्मी प्रसाद उपाध्यायले बताउनु भयो ।

छायाँनाथ र ऋणीमोक्क्ष धाम उच्च बाहै महिना हिउ जम्ने हिमालमा भएकाले दैनिक पुजाआजाका लागि महादेव र सतीदेवीका मुर्तीहरु ११ महिना छायाँनाथ रारा नगरपालिका वडा नं २ चैनगाउँमा रहेका छायाँनाथ र ऋणीमोक्क्ष मन्दिरमा राखिदै आएका छन भने प्रत्येक वर्ष साउन महिनामा मात्र सुरक्षाकर्मी सहित मूर्ती छायाँनाथ र ऋणीमोक्क्ष धाममा लिने गरिन्छ ।

चैन गाउँमा रहेका मन्दिर छायाँनाथ रारा नगरपालिकाले पुनःनिर्माण गरिरहेकाले पनि यो वर्ष छायाँनाथको गाथ मन्दिरबाट ननिकाली बाहिरबाटै छायाँनाथ लगिने भएको छ । मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको बजेटको अपुग नभएमा आगामी चैत भित्र मन्दिरको निर्माण कार्य सकेर छायाँनाथको गाथ मन्दिरमा विराजमान गरिने योजना रहेको मन्दिर निर्माण समितिका अध्यक्ष अस्विनी कुमार हमालले बताउनु भयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
46 Shares
Tweet
Pin
Share